Democratic movement continues in the capital

काठमाडौ माघ ७
सात राजनीतिक दलहरुको शान्तिपूर्ण प्रदर्शनबाट डराएर लाछी सरकारले लगाएको कर्फ्यूको अवज्ञा गर्दै आज राजधानीमा प्रदर्शन हुने क्रम जारी छ। आज विहान सुनधारा, पुल्चोक,सोह्रखुट्टे, बांसबारी लगायत भक्तपूरका विभिन्न चोक तथा क्षेत्रहरुमा प्रदर्शनहरु भैसकेका समाचार प्राप्त भएका छन् भने अहिले बेलुका ६ बजे कर्फ्यू हटेपछि पार्टीहरुले पुन प्रदर्शनकोलागि तयारी गरिरहेका छन्।
प्रदर्शन शुरु हुनुअगावै कांग्रेस सभापती गिरीजा प्रसाद कोइराला, एमाले महासचिव माधवकुमार नेपाल, केपी शर्मा ओली र भरतमोहन अधिकारी, नेपाल मजदुर किसान पार्टी अध्यक्ष नारायणमान विजुक्छेलाई घरमै बन्दी बनाइएको छ भने नेपाल, अधिकारी र विजुक्छेलाई तीन महिने पुर्जी थमाइएको छ। पूर्जीमा उनीहरुलाई घरबाट बाहिर नसिस्कन भनिएको छ। सबैको निवासमा सशस्त्र जत्था तैनाथ गरिएको छ। सभापति कोइरालाको निवासमा बिहान ४ बजेदेखि नै सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षकको नेतृत्वमा १५ जना सुरक्षाकर्मी तैनाथ गरिएको थियो। कोइरालालाई सरकार समर्थित पत्रपत्रिका पढ्न, खानपिन गर्न र टेलिभिजन तथा रेडियो सुन्न दिइएको छ। तर टेलिफोन सर्म्पर्क विच्छेद गरिएको छ।
कोइरालालाई सरकारी मुखपत्र गोर्खापत्र, राइजिङ नेपाल, राजधानी दैनिक, साप्ताहिकमा जनमञ्च, जनभावना, जनधारणा, निष्पक्ष, हिन्दु, गोरखा एक्सप्रेसमात्र पढन पाउने गरी सरकारले तोकिदिएको छ। कोइरालालाई राष्ट्रिय मानवअधिकार आयोग, संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायोगको कार्यालय, अन्तराष्ट्रिय रेडक्रसबाहेक अन्य कसैसँग भेटन नदिने पत्रमा उल्लेख छ। स्थिति बुझ्न अपरान्ह ११ बजे कोइराला निवास पुगेका राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकले कोइरालालाई उद्धृत गर्दै भने-सरकारले बन्दी बनाए पनि मेरो प‍ूर्वत अडान यथावत छ, जुनसुकै अवस्थामा पनि संर्घष जारी रहन्छ।