कविता




My daughter ! don't become the king please

(a satirical poem on the king)

Swagat Nepal


          नानू तिमी राजा नहोऊ
                                    स्वागत नेपाल

प्रत्येक साँझ
मेरी सानी छोरी
सबै भन्दा चाँडो
एक बटुको भात खाइसक्छे
र भन्छे
बाबा म त राजा भएँ।

उसलाई पनि भ्रम छ
निर्सत टन्न खाएर
सारालाई दग्याउँदै
आनन्दसँग सुत्यो भने
आहा यो देशको राजा हुन पाइन्छ।

म अवाक बन्छु
र भन्न खोज्छु
छोरी तिमी कहिल्यै राजा बन्न सक्तिनौ
बिना परिश्रम
सपनासम्म नदेखी
टन्न खाएर निदाउन
राजै हुनुपर्छ र नानू ?

ऊ सानै छे
राजगद्यी उत्तराधिकारी सम्बन्धी
लिगभेद पनि छुट्याउन सक्तिन
म बुझाउन खोज्छु
नानू तिमी त छोरी हौ
राजा कसरी हुन सक्छ्यौ र
धेरै भयौ भने
तिमी रानी हुन्छ्यौ
तर त्यो पनि हुन सक्तिनौ 
रानी हुन त नानू
कि यो देशको राजासँग
वा राजाको छोरासँग
तिमीले विवाह गर्नुपर्छ
सार्वजनिक समारोहमा
एक शब्द बोल्नुहुन्न
बरु मर्नुपर्छ।

तर यस्तो कसरी हुन सक्छ र
अहँ त्यस्तो त हुदै हुन्न
राजाको छोरासँग विवाह गरेर भविष्यमा
यो देशको रानी हुन
तिमी विदेशी नागरिक पनि त होइनौ।

तिमी त नेपालीकी छोरी हौ
नेपालकै छोरी हौ
नानू तिमी कहिल्यै राजा नहोऊ
तिमी कहिल्यै रानी नहोऊ
नानू तिमी मेरै छोरी होऊ।

 'पहाड हाँस्दा पहिरो जान्छ' कविता संग्रहबाट साभार।