Maoists break the leg of royalist

पर्वत, माघ १६
विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को एक समूहले सरकारी राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला सदस्य खड्गबहादुर गुरुङ्गलाई शनिबार राती कुटपिट गरी दाँहिने खुट्टा भाँचिदिएका छन। माओवादीको सो समूहले गुरुङ्गलाई उनको दुर्लुङ गाविस-९ अम्बोटस्थित घरबाट केही पर लगी राती १२ बजेको समयमा कुटपिट गरी खुट्टा भाँचिदिएका थिए। पीडित गुरुङ्गका अनुसार, तपाईसँग केही काम छ भनी घरमै सुतिरहेको अवस्थामा माओवादीका केही कार्यकर्ताहरुले उनलाई लगेका थिए र घरका अन्य सदस्यहरुलाई चुकुल लगाएर घरमै थुनेका थिए। 'तपाई थापा पक्षको राप्रपाको नेता हो, होइन ? गृहमन्त्री कमल थापा पोखरा आएका बेला दलबलसहित भेट्न जानुभएको होइन ? भन्दै बन्दुकका कुन्दाले हाने' गुरुङ्गले भने।
माओवादीले घरको अगाडि पोखरा बागलुङ राजमार्गमै उनलाई कुटपिट गरी अचेत अवस्थामा लडाएका थिए। बिहान पोखरातर्फ गएका सवारी साधनहरुले बाटोमा उनलाई रगताम्य अवस्थामा देखेर उपचारका लागि पर्वत जिल्ला अस्पतालसम्म ल्याइपुर्‍याएका थिए। उनको दाँहिने खुट्टा तीन ठाउँमा भाँचिएको पर्वत जिल्ला अस्पतालले जनाएको छ। पर्वत जिल्ला अस्पतालमा प्राथमिक उपचार गरिएलगत्तै थप उपचारका लागि घाइते गुरुङलाई आइतबार नै काठमाडौंतर्फ लगिएको छ। स्वतन्त्र समाचार सेवाबाट