दसैमा प्रविधिसंग मेरो सम्बन्ध पारपाचुके भएकाले यत्रो समयसम्म ब्लग अपडेट गर्न नसकेकोमा क्षमा माग्दै आजदेखि फेरि निरन्तरता दिन थालेको छु । माथि देखिएको तस्विर निकै रोचक लागेर यहां प्रस्तुत गरेको हुं । मैले स्वतन्त्र समाचार सेवाबाट लिएको तस्विरको क्याप्सन पढन पाइएन । सायद यो तस्विर हिजो प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सरकारी निवास बालुवाटारमा सात दल र माओवादीका उच्च नेताहरुको वार्ताका समयमा खिचिएको होला । हिजो वार्ताको कामना गर्दै प्रधानमन्त्री निवास बाहिर दवाव सिर्जना गर्न विभिन्न संघसंस्था र सर्वसाधारणको भिडै लागेको थियो । प्रेसले समेत वार्तामा समाचार संकलनका लागि ज्यादै कठिनाइ ब्यहोर्‍यो । सायद थाकेर होला प्रहरी समेत थचक्क बसेको देखिन्छ, तस्विरमा । तर, उनीहरु माथि टागिएको तुलले चाहिं उनीहरु नै कतै सरकारको विरोधमा आन्दोलनमा उत्रेको हो कि भन्ने देखिन्छ । सत्य बुझ्नै सकिएन । तस्विरको क्पाप्सन नभएकाले अन्योलता देखिए पनि हिजोको शिखर बैठकबाट नेपाली नागरिकमा शान्तिप्रतिको आशा बढने सन्देश आएको छ । सात दल र माओवादीबीच विवादका मुद्धाहरु समाधानको दिशातिर गएको सन्देश मिलेको छ । भोलिदेखि हुने शिखर वार्ताका लागि शुभकामना । भोलिदेखि यो वार्ता टुंगोमा नपुगेसम्म जारी रहने बुझिएको छ ।