What relations ?

नेपाली राजनीतिमा अहिले गिरिजाप्रसाद कोइराला र प्रचण्डको नाम शिखरमा छ । उनीहरु दुबै नेपाली राजनीतिका नायक र खलनायकको भूमिका खेलिरहेका छन । यही कारण ११ वर्ष लामो सशस्त्र विद्रोह अन्त्य भएको ऐतिहासिक घोषणासहित नयां नेपालको रेखा कोर्न यी दुइ पात्र सफल भएका छन ।

यस्तो सहमति भएको भोलिपल्ट अर्थात हिजो यी दुबै पात्रले फरक फरक स्थानमा बसेर पत्रकारहरुसंग साक्षात्कार गरे । गिरिजाले पार्टीका कार्यकर्तासहितका पत्रकारलाइ बालुवाटारमा सम्बोधन गरे भने प्रचण्डले होटल याक एण्ड यतिमा । १९ माघपछि एक महिना निरंकुश शाही राजका विरुद्ध आक्रामक रुपमा समाचारहरु लेखेपछि जागिर गएपछि सार्वजनिक कार्यक्रममा गएको म हिजै हो, त्यो पनि दुइ वटामा ।

प्रचण्डलाइ प्रत्यक्ष देखेको पनि हिजै हो । गिरिजाको त के कुरा गर्नु र उनी नजरबन्द रहेको बेलाको विज्ञप्ति छापेकै कारण राजधानी दैनिकले मेरो जागिर खोसेको थियो ।

अ म त गन्थनतिर पो गएछु । प्रसंग हिजोको हो । दुबै नेताको सम्बोधनमा निक्कै गाम्भीर्यता देखियो । एउटा साम्यवादी अर्को चाहिं समाजवादी । राजनीतिक लक्ष्य फरक भए पनि यी दुइले हिजो एकै आसयका सम्बोधन गरे । 'गिरिजाबाबु र प्रचण्डको बोली एकै लयमा आयो' दुबै सम्बोधन सकेर कमलादीस्थित चिया पसलमा चिया पिइरहदा राजधानी दैनिकका सम्पादक जिवेन्द्र सिम्खडाले दिएको प्रतिक्रिया यही हो ।

दुबै नेताले अस्तिको ऐतिहासिक सहमति भाडन षडयन्त्र हुन सक्ने भनेर एकै बोली बोलेका थिए । प्रचण्डले त ऐतिहासिक सहमति गराउन भूमिका खेलेका नायक गिरिजाको नामै लिएर धन्यवाद दिए र माओवादीसहितको अन्तरिम सरकारको नेतृत्व पनि गिरिजाले नै लिने उदघोष गरिदिए ।

हो, माओवादीले सशस्त्र विद्रोह सुरु गरेपछिको पहिलो तारो नेपाली काग्रेस नै भएको थियो । यसका नेता र कार्यकर्ता माओवादीले मारेकै हो । लुकाउने कुरा छैन । यही कारण सत्तामा अधिक समय रहेको काग्रेसले पनि माओवादी सिध्याउन सुरक्षाका विभिन्न रणनीति अख्तियार गरेकै हो । यस्ता परस्पर दुस्मन दुई शक्तिका नेताहरु अहिले एउटै बोली बोलिरहेका छन ।

हिजोको सम्बोधनमा मलाइ के लाग्यो भने गिरिजा कम बोल्छन र आवश्यक सबै कुरा भन्छन । अझ रोचक कुरा चाहिं के हो भने गिरिजाले महेश आचार्यले लेखेर ल्याएको चार पेज लामो भाषण फालेर आफनो मौलिक चरित्रको भाषण गरे । यद्यपी उनको भाषणमा निक्कै गहिरो चिन्ता, गम्भीरता र नेपालप्रतिको प्रतिवद्धता थियो । त्यसको तुलनामा प्रचण्डले अलि बढी नै क्रान्तिकारी कुरा गरे । तर चुरो चाहिं दुबैको एकै खालको थियो ।

यी दुबै पात्रलाइ नोबेल शान्ति पुरस्कार दिनुपर्छ भनेर नेपाली जनताले आवाज उठाउन थालेका छन । यी दुबैको बोली पनि मिलिरहेको छ । हो यही कारण म भनिरहेको छु-गिरिजा र प्रचण्डको कुरो बुझनै गाह्रो । तपाइले भित्रि कुरा थाहा पाउनुभएको भए यसो थाहा पाउ है त ।