What differences ?

माओवादी अध्यक्ष प्रचण्डले हिजो प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासंग भेट गरे । आज एमाले महासचिव माधवकुमार नेपालले बिहान ४५ मिनेट गिरिजासंग वार्ता गरेका छन ।

यी दुबै वार्तामा के के कुराकानी भयो भनेर औपचारिक जानकारी नदिइए पनि खासमा दुइ कृष्णले नेतृत्व गरेको सरकारी र माओवादी वार्ता टोलीले निम्टयाउन नसकेको विषयमा टुंगोमा पुगी अन्तरिम संविधान जारी गर्ने विषयमा कुराकानी भएको सहजै अनुमान गर्न सकिन्छ ।

हिजो एमालेले कुनै पनि बहानामा अन्तरिम संविधान जारी गर्न ढिलो गर्न नहुने भन्दै आधिकारिक विज्ञप्ति जारी गरेको थियो । आज सायद माधवले त्यही निर्णयमा टेकेर कुराकानी गरे होलान ।

हिजो चाहिं गिरिजा र प्रचण्डबीच अलि गम्भीर वार्ता भएको अनुमान गर्न सकिन्छ । त्यही कारण अन्तरिम संविधानलाइ टुंगोमा पुर्याउन भोलि बुधबार आठ दलको शिखर बैठक बस्ने निधो भएको छ । र विगतमा हतियार व्यवस्थापन नभै अन्तरिम संविधान जारी नहुने अडान राख्दै आएका गिरिजा समेत हतियार व्यवस्थापन नभैसके पनि अन्तरिम संविधान जारी गर्न राजी भएको कुराहरु आइरहेका छन । निश्चय नै यो सुखद खबर हो ।

अनि प्रश्न उठछ गिरिजा सहजै लचिलो भएका हुन या माओवादी अध्यक्ष प्रचण्डले थर्काएपछि । किनकी माओवादीको मुखपत्र जनादेशले आज सरकार संविधान सभाबाट भाग्ने बहाना गरिरहेको, जनआन्दोलन अपरिहार्य भएको र अन्तरिम संविधान जारी गर्न दुइ दिने अल्टिमेटम दिइएको सनसनीपर्ण खबर प्रकाशित गरेको छ । यसबाट निश्चितै के बुझन सकिन्छ भने प्रचण्डले गिरिजालाइ अल्टिमेटम दिएरै थर्काए । आफूले भने अनुसार नगरे अहिलेसम्म भएका सबै सम्झौताहरु भत्काएर आन्दोलनमा जाने धम्की समेत प्रचण्डले दिएको बुझिन्छ, यो चाहिं माओवादीको उदण्डता र गैरजिम्मेवारपन हो । माओवादी शान्तिका लागि लचिलो हुनुपर्छ, जनचाहना त्यही छ ।