Coup is dangers for King
मैले अघिल्लो साता ब्लगमा कूको सम्भावनाबारे एक जना दरबारियाले भनेको कुरा राखेको थिए । त्यसप्रति साथीहरुले विभिन्न टिप्पणी गरे । अनि आज यसो पत्रपत्रिका पढेको यही सम्बन्धी एउटा लेख पाए । काठमाडौं टुडेमा वोर्णबहादुर कार्कीले 'कु’ गर्ने हल्ला ! शिर्षकमा लेखेको लेख यहां प्रस्तुत गरिन्छ–
अहिले नेपालमा 'कु' को हल्ला चलाउन थालिएको छ । सात दल र माओवादीले अन्तरिम संविधानमा संयुक्त हस्ताक्षर गरिसकेपछि सुरु भएको यो प्रायोजित हल्ला राजदूत प्रकरणपछि झन् बढेको छ । यस सर्न्दर्भमा राजा ज्ञानेन्द्रले आफ्ना र्समर्थकहरूसँग गोप्य भेटघाट थालेको कुरा पनि चर्चामा छ । राप्रपा नेपालले पोखरामा आयोजना गरेको क्षेत्रीय भेला र त्यही पार्टीले ललितपुर तथा काठमाडौं कार्यकर्ता भेलालाई पनि 'कु' कै हल्लासँग जोडेर हेर्न थालिएको छ । यो हल्लाद्वारा मुलुकको राजनीतिमा जबर्जस्ती नाजायज प्रभाव पार्ने दुस्प्रयास हुदैछ ।
मुलुकको राजनीति लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थातर्फफड्को मार्न लागिरहेको अवस्थामा आएका यस्ता हल्लामा कति वास्तविकता छ ? मूल्यांकन र विश्लेषण गर्नुपर्ने भएको छ । समयमै यस्ता हल्लाको कारण पत्ता लगाई उपयुक्त कदम नचाल्दा गम्भीर क्षति बेहोर्नुपर्ने पनि हुन सक्छ । हल्लाको स्रोत प्रतिगामी र उनीहरूका मतियार भएबाट पनि यस सम्बन्धमा सचेत हुन आवश्यक छ ।
अहिले सात दल र माओवादीको राजतन्त्रसँगको दूरी अत्याधिक बढेको छ । उनीहरूमध्ये कोही राजासँग एक ठाउँमा बस्न सक्ने स्थिति नै छैन । सात दलभित्रका केही व्यक्तिहरूले राजतन्त्र बचाउन गरेका सोझा र घुमाउरा अभ्यास नकाम साबित भइसकेका छन् । राजतन्त्र बचाउन खोज्दा आफू पनि डुब्ने आभास उनीहरूमा भएको छ । भीरबाट लड्न लागेकालाई बचाउन लाग्दा आफैँ खसिने मूर्खता गरिनु हुन्न भन्ने चेत उनीहरूमा देखिन्छ । घटनाक्रम यसरी विकसित हुदै गएको छ कि, सात दलभित्रका राजाका मतियारहरूले पनि आफूलाई गणतन्त्रवादी देखाउनुपर्ने बाध्यात्मक स्थिति उत्पन्न भएको छ । परिस्थितिले सात दल र माओवादीलाई एकै ठाउँमा यसरी बाँधेर ल्याएको छ कि, उनीहरूबीच फुट गराउने खेल असम्भव हुँदै गएको छ । त्यसैले, राजा ज्ञानेन्द्रले सात दलभित्र खेलेर 'कु' को खेती गर्ने सम्भावनार् छँदैछैन भन्दा हुन्छ । सात दल-माओवादी सम्बन्ध र अन्तरविरोधमा 'कु' का लागि कुनै स्थान देखिँदैन ।
त्यस्तै गरी, 'कु' का लागि राजावादी राजनीतिक शक्तिबाट पनि सहयोग पुग्न सक्ने स्थिति देखिँदैन । दोस्रो ऐतिहासिक जनआन्दोलनद्वारा राजतन्त्र पराजित भएपछि राजावादी शक्तिमा विघटनको प्रक्रिया तीव्र गतिले सुरु भएको छ । आपराधिक तथा अराजनीतिक तत्त्वलाई काखा र आफूलाई पाखा पारेका कुराहरूबाट आक्रोशित राजावादीहरूबाट ज्ञानेन्द्र शाहले सहयोग पाउने सम्भावना देखिँदैन । उनीहरूले राजतन्त्रको विकल्पमा अन्य राजनीतिक शक्तिहरूमा आफ्नो स्थान खोज्न थालेबाट पनि यही कुरा पुष्टि हुन्छ ।
प्रतिगमनकालमा राजा ज्ञानेन्द्रको सहयोगी रहेका राजावादीहरूको मनोबल यति गिरेको छ कि, उनीहरूबाट केही सहयोग पुग्ने सम्भावना देखिँदैन । त्यसमा पनि जनतासँग कुनै सम्बन्ध नभएका, जनविरोधी छवि बोकेका व्यक्तिहरूका साथ र र्समर्थन आफैँमा घातक हुनेछ । राप्रपा नेपालले पोखरामा मात्र होइन, काठमाडौं र ललितपुरमा पनि भेला गर्न नसकेबाट यही कुरा प्रतीत हुन्छ । आफ्नै राजनीतिक अस्तित्व बचाउन नसक्नेले राजा ज्ञानेन्द्रलाई सहयोग गरेर केही हुन्छ भन्ने राजनीतिक निष्कर्षनिकाल्नुको कुनै तुक देखिँदैन ।
हुन त यस्ता 'कु' हरू राजनीतिक शक्तिभन्दा पनि सुरक्षा निकायको बलमा हुने गरेका पाइन्छन् । नेपालकै सर्न्दर्भमा २०१७ र २०६१ सालको 'कु' सुरक्षा निकायकै भरमा भएका थिए । तर, अहिले त्यस्तो स्थिति रहेन । सशस्त्र प्रहरी र नेपाल प्रहरीदेखि सेनाका जवानसम्ममा अब नेपालमा राजतन्त्र टिक्दैन भन्ने मानसिकता पाइन्छ । दोस्रो जनआन्दोलनद्वारा नराम्ररी मार खाएका यी दुई प्रहरी फोर्स पुनः राजाको 'कु' लाई साथ दिएर खतरा मोल्ने मानस्थितिमा देखिँदैनन् । राजालाई सधैँ साथ दिँदै आएको सेनाको स्थिति पनि योभन्दा धेरै भिन्न छैन । अभिजात्य वर्ग र जातिका माथिल्लो तहका अफिसरबाहेक सेनामा आफ्नो लागि जनताको शासन उपयोगी हुने चिन्तन द्रुत गतिमा विकास हुदै गएको छ । यो स्थितिमा सेनाको बलमा राजाले 'कु' गर्ने सम्भावना देखिँदैन ।
जनताको प्रबल मत नागरिक सरकारको पक्षमा हुँदा पनि 'कु' लाई मलजल गर्ने कार्य भएको कतिपय देशमा पाइन्छ । पाकिस्तानमा नागरिक सरकार अति जनविरोधी र भ्रष्ट भएको बेला नै पटक-पटक सैनिक 'कु' भए । तर, आफ्नो छोटो शासनकालमा राजा ज्ञानेन्द्र यसरी नांगिसकेका छन् कि, उनीबाट देश र जनताको हित हुन सक्दैन भन्ने प्रबल जनविश्वास स्थापित भइसकेको छ । शक्ति र धनका लागि जे पनि गर्न तयार हुने यिनको चरित्र जनतामा राम्ररी परिचित भएको छ । मुलुकको आवश्यकता र जनताको चाहना अर्थात् शान्तिमाथि प्रहार गर्दै युद्ध चर्काएर आफूलाई निरंकुश शासक बनाउन यिनले खेलेको राष्ट्रविरोधी भूमिका जनताले हतपती बिर्सन सक्ने स्थिति छैन । आफ्नो शासनकालमा यिनले आपराधिक र असामाजिक व्यक्ति तथा शक्तिलाई काखी च्यापेका कारणले नेपालमा राजतन्त्रको भ्रम भत्किसकेको छ । जनमत यसरी अति प्रतिकूल बनेको स्थितिमा उनीबाट 'कु' हुने सम्भावनालाई कतैबाट पुष्टि गर्न सकिँदैन ।
कहिलेकहीँ वाह्य शक्तिको स्वार्थका कारणले 'कु' का घटनाहरू हुने गर्छन् । राजा ज्ञानेन्द्रको २०६१ सालको 'कु' त्यसैको उदाहरण हो । तर, ज्ञानेन्द्रलाई शक्तिशाली शासकको रूपमा स्थापित गरी नेपाललाई आफ्नो अखडा बनाउने विदेशी अभ्यासहरू असफल भइसकेका छन् । राजा ज्ञानेन्द्रको भरमा आफ्नो स्वार्थ पूरा हुन नसक्ने देखेर अमेरिकीहरूले वैकल्पिक कसरत सुरु गरिसकेका छन् । अमेरिकी राजदूत जेम्स फ्रान्सिस मोरिआर्टीले गरेको प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको प्रशंसाभित्र पनि त्यही तथ्य लुकेको छ । नेपालको राजनीतिलाई प्रभाव पार्न सक्ने अन्य कुनै वाह्य शक्तिले राजा ज्ञानेन्द्रलाई साथ दिएर काठमाडौंमा आफ्नो स्थिति बिगार्ने सम्भावना पनि छैन ।
वस्तुस्थितिको तथ्यगत विश्लेषण गर्दा आन्तरिक राजनीतिक शक्ति, आम जनता, सुरक्षा निकाय र वाह्य शक्ति पनि 'कु' को पक्षमा सहयोगी हुने सम्भावना पटक्कै छैन । यसरी 'कु' को हल्ला हावादारी हो भन्ने निष्कर्षनिकाल्दा गलत हुँदैन । तर, यसको मतलब प्रतिकूल परिस्थितिमा दुस्साहसिक घटनाहरू हुँदै नहुने भने होइन ।
दोस्रो ऐतिहासिक जनआन्दोलन द्वारा राजा ज्ञानेन्द्र नराम्ररी पराजित भएपछि मुलुकको राजनीति द्रुत गतिमा लोकतान्त्रिक गणतन्त्रको बाटोमा अघि बढिरहेको छ । यो गतिलाई रोक्न वाह्य शक्ति र दरबारले गरेका कसरत असफल हुँदै गएका छन् । यसक्रममा सात दल र माओवादीबीच द्वन्द्व चर्काएर राजतन्त्र बचाउने दरबारिया मतियारहरूको खेल पनि समाप्त भइसकेको छ ।
अन्तरिम संविधानमा सात दल र माओवादीले हस्ताक्षर गरिसकेपछि वैधानिक रूपमा पनि राजतन्त्र समाप्त भएको छ । कुनै दुर्घटना भएन भने अब राजतन्त्र पुनःस्थापना हुने सम्भावना नै छैन । यस्तो स्थितिबाट आक्रोशित भई 'मरता क्या नही करता' भन्ने दुस्साहसबाट निर्देशित हुँदै 'कु' गर्न खोजियो भने त्यो नटिक्नेमात्र होइन, त्यसको मूल्य राजाले दोस्रो ऐतिहासिक जनआन्दोलनमा भन्दा महँगो रूपमा चुकाउनुपर्नेछ ।