People come to the street against royal proclamation
काठमाडौं, माघ १९
आन्दोलनरत राजनीतिक दल तथा लोकतन्त्र पक्षधर संस्थाहरुले राजाको प्रत्यक्ष शासन शुरु भएको दिन माघ १९ लाई कालो दिनको रुपमा मनाउँदै आज देशभरी विरोध प्रदर्शन गर्ने काम शूरु भएको छ। सात राजनीतिक दलले उपत्यकाका विभिन्न कुनावाट एकैपटक विरोध जुलुस निकाल्ने र सभाका लागि वसन्तुपरमा भेला हुने जनाए अनुसार अहिले बिहान सडकका चोक र गल्लीहरुबाट जुलुस निस्कने काम शुरु भएको छ। काग्रेसले टेकु, एमालेले इन्द्रचोक, प्रजातान्त्रिक काग्रेसले कालिमाटी क्षेत्रबाट अपरान्ह विरोध जुलुस निकाल्ने योजना बनाएका थिए।
आजै आठ विद्यार्थी संगठनले देशभरका शैक्षिक संस्थाहरुमा कालो झण्डा गाड्ने कार्यक्रम तय गरेका छन। कालोझन्डा गाडेपछि उनीहरु अपरान्ह सात दलको प्रदर्शनमा सहभागी हुनेछन। यसैगरी मानव अधिकार संगठनको संयोजनमा विभिन्न संस्थाहरुले बुधवार अपरान्ह निशेधित क्षेत्र रत्नपार्कमा विरोध प्रदर्शन गरी आम गिरफ्तारी दिने कार्यक्रम बनाएका छन। यो गिरफ्तारीको क्रम भने विरोध प्रदर्शनको पूर्व सन्ध्यामै शुरु भैसकेको छ। त्यसैले दलका अधिकास नेताहरु अहिले अर्धभूमिगत र भूमीगत अवस्थामा छन्। नेपाल पत्रकार महासंघ समेत त्यसमा सामेल हुनेछ। नेपाल प्राध्यापक संघले अपरान्ह ११ बजे त्रिचन्द्र क्याम्पसमा विरोध सभा आयोजना गर्नेछ।
नेपाल इन्जिनियर्स एशोसिएसनले इन्जिनियरिङ्ग क्याम्पस पुल्चोकबाट अपरान्ह ११:३० मा विरोध जुलुस प्रदर्शन गर्ने जनाएको छ। नेपाल बार एशोसिएसनले माघ १९ लाई नेपालको संबैधानिक इतिहासमा कालो दिन घोषणा गर्दै बार एसोसिएसनको कार्यालय सिंहदरबारमा विरोध सभा गर्ने भएको छ। उता महाराजगञ्ज प्रहरी प्रशिक्षण प्रतिष्ठानमा हिरासतमा रहेका राजबन्दीहरुले भोजन बहिष्कार गर्ने भएका छन्। लोकतन्त्रको वहालीको माग गर्दै दिनभरी हातमा कालो पट्टी बाँध्ने र एक छाक खाना बहिष्कार गर्ने उनीहरुले जनाएका छन। यसैगरी अमेरिका, बेलायत, ब्रसेल्स, अष्ट्रिया, थाइल्यान्ड, अष्ट्रेलिया लगायत सयौं मुलुकमा छरिएर रहेका नेपालीहरुले राजा ज्ञानेन्द्रको कदम विरुद्ध आज नारा जुलुस गर्नेछन्। स्वतन्त्र समाचार सेवाको सहयोगमा तयार पारिएको ।