
माघ १८ गते भएको प्रदर्शनबाट महिलाहरुलाई गिरफ्तार गर्दै प्रहरीहरु। प्रहरीले महिलाहरुलाई अपमानपूर्वक प्रकाउ गर्ने गरेको महिला नेतृहरुले जनाएका छन्। तस्विर: नेपाल न्यूज
दूर्गा भण्डारी/स्वससे
काठमाडौं, माघ २८
राजधानीमा लोकतन्त्र स्थापनाका लागि भइरहेको आन्दोलनमा संलग्न महिलाहरुमाथि प्रहरीले ब्यापक दूर्व्यवहार गरेको आरोप आन्दोलनरत दलका महिला नेतृहरुले लगाएका छन। प्रदर्शनका क्रममा महिलाहरुलाई पक्रदा चिमोट्ने, गुप्तागहरुमा लठ्ठीले घोच्ने, टोक्ने तथा महिलाहरुका संबेदनशिल अंगहरु समातिदिने जस्ता कामहरु प्रहरीबाट भएको भन्दै महिलाहरुले यसको व्यापक विरोध गरेका छन्। यसबाट १४ वर्षघि नेपालले हस्ताक्षर गरेको महिला उपर हुने सबै प्रकारका भेदमा उन्मुलन गर्ने सन्धी (सिड)को समेत उल्लंघन भएको छ।
आन्दोलनमा महिलालाई निरुत्साहित पार्ने उदेश्यले प्रहरीले पटक-पटक यौन दूर्ब्यवहार समेत गर्ने गरेको एमाले नेतृ विद्या भन्डारीले बताउनुभयो। उहाँले आफ्ना कार्यकर्ता पीडत हुँदाहुँदै यो विषयलाई र्सार्वजनिक बहसमा ल्याउँदा आन्दोलनामा महिला सहभागिता कम हुने भएकाले त्यति धेरै चर्चामा नल्याएको बताउनुभयो। उदाहरणका रुपमा गएको दसैंको मुखमा राजधानीमा भएको महिलाहरुको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप र पक्राउ मात्र नगरी पक्राउ परेकी एक महिलालाई ट्रकमा राख्दा पछाडिबाट ढाँडमा समेत टोकेको र अनेरास्ववियू काभ्रेकी लामा थरकी एक कार्यकर्तालाई प्रहरीले लछार-पछार गरी गुप्ताङ्गमा लठ्ठीले घोचेको घट्नालाई लिन सकिन्छ।
अनेमसंघका दूइ केन्द्रीय सदस्यलाईपनि त्यतिवेला प्रहरीले पेटमा बुटले कुल्चिएर घाइते बनाउनुका साथै पक्रेको थियो। नेपाल महिला संघ प्रजातान्त्रिककी मिना पाण्डे, उमा अधिकारीलगायतका नेताहरु पनि प्रहरी दूर्ब्यवहारको शिकार बन्नुपर्यो भने एमाले नेतृ विद्या भन्डारीलाई प्रकाउ गर्दा प्रहरीले समातेको ठाउमा अझै निलडाम बसेको छ।
११ वटा महिला संगठनको संयुक्त मोर्चाले मंसिर २७ मा नयाँबानेश्वरदेखि मण्डेलासम्म गरेको प्रदर्शनमापनि प्रहरीले उही ब्यवहार दोहोर्यायो। प्रहरीले गरेको दूर्ब्यवहार सम्झदैं अनेमसंघकी महासचिव सीता पौडेल भन्नुहुन्छ- त्यो दिनको घटना म कहिल्यै बिर्सन सक्दिनँ, प्रहरी यति नराम्रोसँग उत्रियो कि त्यसको सिमै छैन।'
दश दिन अघि भएको बन्दका बेला नयाँ बानेश्वरबाट निस्किएको जुलुसमा एक प्रदर्शनकारी महिलालाई प्रहरीले उफ्रेर लात हानेको थियो। प्रजातान्त्रिक राष्ट्रिय युवा संघ सम्बद्ध उनीमाथि भएको दूर्ब्यवहारलगायतका घट्नाहरुको अनेमसंघ र सयुक्त महिला संर्घष समितिले गरेको छ। महिलाहरुले घटना सम्बन्धमा संयुक्त राष्ट्रसंघको नेपालस्थित उच्चायुक्त समक्ष पुर्याएका थिए।'हामीले पत्रकार, मानवअधिकारवादी र उच्चायुक्त समक्ष कुरा पुर्याएका छौं' नेतृ भण्डारीले भन्नुभयो। महिलाहरुको उजुरीपछि उच्चायुक्तले महिलामाथि दूर्ब्यवहार नगर्न सरकारलाई सचेत गराएका थिए।
अनेमसंघकी महासचिव सीता पौडेलका अनुसार, समाज, घर-परिवारमा इज्जत जान्छ भन्ने डरले महिलाहरुले यस्ता कुरा र्सार्वजनिक गरेका छैनन। तर घट्ना दोहोरिरहेका छन।हालै गौशालाबाट निस्किन लागेको महिलाको जुलुसलाई प्रहरीले तितरबितर पार्ने क्रममा महिलाहरुलाई प्रहरीले जबरजस्ती हात र कम्मरमा समातेर भ्यानमा हालेको थियो। प्रहरीहरुले महिलाको जुलुसमा मात्र होइन, विद्यार्थी, युवा र दलहरुको जुलुसमा समेत महिला प्रदर्शनकारीमाथि पहिला हात हाल्छन। भिडभाडमा ठेल्ने, घिस्याउने, घोच्ने, टोक्ने र लछापछार गर्ने गर्दछन।अहिलेको लोकतान्त्रिक आन्दोलनमा महिलाको भूमिका ४० प्रतिशत रहेको अनुमान रहेको छ। यो संख्या घटाउन प्रहरीले हर्कत गरेको महिला नेतृहरुले जनाएका छन।
आन्दोलनकारी महिलामाथि यौन दूर्ब्यवहारका घटना प्रशस्तै भएको काग्रेस केन्द्रीय सदस्य शुप्रभा घिमिरे बताउनुहुन्छ। 'हाम्रा दिदीबहिनीमाथि प्रहरीले यौन दूर्ब्यवहार गरेको छ' उहाँले भन्नुभयो। तर, आन्दोलन नियन्त्रणमा खटिने सशस्त्र प्रहरीको उपत्यका डिआइजी दिलिप श्रेष्ठ यो कुरा मान्न तयार हुनुहुन्न। 'मलाई यस्ता घटनाबारे थाहा छैन' ध्यानाकर्षा गराउँदा उहाँले भन्नुभयो। नेपाल प्रहरीका उपत्यका प्रमुख कृष्ण बस्नेतले 'कहिले यौन दूर्ब्यवहार भएको छ र ? भन्दै उल्टै प्रहरीको बचाउ गर्नुभयो।