Rewati Sapkota, New Delhi
माओवादीलाई हतियार नत्याग्न आग्रह
रेवती सापकोटा
नयाँ दिल्ली,माघ ३०

तस्विरहरु सबै: अरुण जोशी
नेपालमा जारी लोकतान्त्रिक आन्दोलन प्रति समर्थन जनाउदै भारतको राजधानी नयाँ दिल्लीमा आईतबार फेरि बिशाल प्रदर्शन भएको छ। राजतन्त्रको बिरुद्ध अन्तिम जनबिद्रोहको दिशामा अघि बढौ भन्ने नारा दिईएको सो प्रदर्शनमा ५० हजार भन्दा बढीको उपस्थिति रहेको दावी गरिएको छ। नयाँ दिल्लीमा नेपाली लोकतान्त्रिक आन्दोलनको पक्षमा यस अघि निस्केको जुलुस भन्दा यो सबै भन्दा ठुलो हो। सधै नयाँ दिल्लीको जन्तरमन्तरमा हुने धर्ना जुलुस र सभा यसपटक भने बढी उपस्थितिका कारण दिल्लीको रामलीला मैदानमा आयोजना गरिएको थियो। माओवादी समर्थित मानिने नेपाली जनअधिकार सुरक्षा समिति भारतद्धारा आयोजित सो प्रदर्शनमा नेपाली तथा भारतीय नेताहरुले सम्बोधन गर्नु भएको थियो।

कार्यक्रममा संलग्न जनमास
भारतीय गठबन्धन सरकारका अक्सिजन मानिने प्रमुख सहयोगी राजनीतिक दल भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका पोलिटव्युरो सदस्य सीताराम यचुरीले सभालाई सम्बोधन गर्दै नेपालको लोकतान्त्रिक गणतन्त्रको आन्दोलनमा भारत सहयोगी हुने बताउनुभयो।
उहाले यसो भनेपनि भारत सरकारले अहिलेसम्म नेपालका माओवादी माथि लगाएको आतंककारीको बिल्लालाई फिर्ता लिएको छैन । नेपालमा माओवादीले जनयुद्ध शुरु गरेको १० बर्षछि यो सभा भएको हो।आजको कार्यक्रममा नयाँ दिल्लीमा अध्ययनरत नेपाली बिद्यार्थी, बुद्धिजीवि तथा राजनीतिक कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।
वामपन्थी बुद्धिजीवी हरि रोकाले माओवादीले तत्काल हतियार त्यागेको खण्डमा सन १९६० मा राजा महेन्द्रले गरेको कु जस्तै राजा ज्ञानेन्द्रबाट अर्को कु हुन सक्ने संभावना औल्याउदै माओवादीलाई तत्काल हतियार नत्याग्न समेत आब्हान गर्नुभयो। उहाले नेपालको राजतन्त्रको लागि माओवादी जनमुक्ति सेना चुनौतीको रुपमा प्रस्तुत भएर आएको बताउदै सात दल र माओवादी मिलेर लोकतान्त्रिक गणतन्त्रको आन्दोलनलाई अगाडि बढाउनुको बिकल्प नरहेको पनि रोकाले स्पष्ट पार्नु भयो।

सभामा संलग्न जयपूरी घर्ती, लेखनाथ न्यौपाने, हरि रोका, भारतिय वामनेता याचुरी लगायतका नेताहरु।
सभालाई सम्बोधन गर्दै जवाहरलाल नेहरु बिश्व बिद्यालय छात्र संघकी सभापति मोना दासले नेपालका राजनीतिक दल र त्यहाका युवा बिद्यार्थीहरुद्धारा सञ्चालन गरिएको लोकतान्त्रिक आन्दोलनमा आफनो बिश्व बिद्यालयका बिद्यार्थीहरुको तर्फबाट एक्यबद्धता जाहेर गर्नु भएको थियो।सो सभालाई नेकपा एमालेका बैकल्पिक केन्द्रीय सदस्य छवीलाल बिश्वकर्मा, अखिल नेपाल किसान संघ (क्रान्तिकारी)का अध्यक्ष शिवराज गौतम, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कि अध्यक्ष जयपुरी घर्ती, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी)का अध्यक्ष लेखनाथ न्यौपाने, अखिल नेपाल जन साँस्कृतिक संघका नेता इशवरचन्द्र ज्ञवाली, नेपाली जनअधिकार सुरक्षा समिति भारतका अध्यक्ष लक्ष्मण पन्त, भारतबाट प्रकाशित हुने लोकतन्त्र मासिकका प्रधान सम्पादक शैलेश आचार्य लगायतले बोल्नुभएको थियो।
आजको यस समाचारलाई भारतीय टेलिभिजन च्यानलहरुले प्रमुखताका साथ प्रसारण गरिरहेका छन। नेपालका सात राजनीतिक दल र माओवादी बीच नयाँ दिल्लीमा भएको १२ बुदे समझदारीपछि भारतीय कम्युनिष्ट पार्टीहरु नेपालको लोकतान्त्रिक आन्दोलन सफल हुनेमा बढी आशावादी देखिदै आएका छन।