नेकपा (माओबादी) का अध्यक्ष प्रचन्डले गतहप्ता कान्तिपुर दैनिकका पत्रकारहरुलाई अन्तर्वार्ता दिदै भनेछन - नेपाली पत्रकारलाई प्रत्यक्ष अन्तर्वार्ता दिएको यो पहिलो पटक हो। अन्तर्वार्ता लिनेहरु त यसैपनि मक्ख पर्ने नै भए यति ठूलो पार्टीको सर्बोच्च नेताबाट पहिलो अन्तर्वार्ताका लागि आफू र आफ्नो पत्रिकालाई पत्याएको भनेर। सबैले पत्याएपनि होलान। तर यो प्रत्यक्ष अन्तर्वार्तामा प्रचन्डले पत्रकार र आम नेपाली जनतालाई मज्जाले ढाटेका छन।
नेपाली पत्रकारलाई पहिलो प्रत्यक्ष अन्तर्वार्ता दिएको भनेर। किनभने प्रचन्डसँग कमसेकम जनादेशसँग आबद्द पत्रकारहरुले धेरै पटक अन्तर्वार्ता लिइसकेका छन। जनादेशका पत्रकार गोविन्द आचार्य, खिला भण्डारी र पहिले जनदिशा दैनिक रुपमा प्रकाशित हुँदापनि उनिहरुले प्रचन्डसँग 'दरिलो हात मिलायौ भेट हुनसाथ ' भन्दै प्रत्यक्ष अन्तर्वार्ता भनेर निकै पटक छापिएकै हो। जनादेश र जनदिशाका अङ्क यसका प्रमाण होईनन र ? झन माओवादीहरुले आफ्ना प्रकाशन बाहेक अरु पत्रिकालाई प्रतिकृयावादीका पत्रिका भन्छन। नाफा कमाउनकालागि निकालेका भन्ने आरोप लगाउँछन। आफ्नो पार्टीसँग सम्बन्धित पत्रकारहरुले मात्रै जनताको भावना बोकेर सत्यतथ्य लेख्छन भन्छन। तर उनीहरुले के आफ्ना कार्यकर्तालाई भुलाउनकालागि मात्रै यसो भन्ने रहेछन ?
मुखले एक थोक भनेपनि भित्री रुपमा भने यो त प्रोपोगान्डाका लागि पो त, जनादेशको पत्रकारितापनि पत्रकारिता हो र भन्ने लाग्छ माओवादी नेतालाई ? नत्र कसरि यतिका बर्ष सम्म जनादेश, जनदिशा लगायतका आफ्नो पार्टी नजिकका पत्रिका र पत्रकारलाई अन्तर्वार्ता दिएर अहिले दश बर्ष पछी पहिलो प्रत्यक्ष अन्तर्वार्ता भयो र ? कि अन्तर्वार्ता लिने पत्रकारलाई सुरक्षा अधिकारीले समाते भने प्रचन्डसँग कहिल्यै भेटभएको छैन भनेर आफ्नो पार्टीका पत्रकारलाई बच्ने ठाउँ दिइएको हो ? यदि त्यसो हो भने प्रत्यक्ष अन्तर्वार्तालाईपनि त लिखित भन्न सकिदो हो। लुकीछिपी, सुरक्षा स्रोतका आँखा छली छली प्रत्यक्ष भन्दै आजसम्मका अन्तर्वार्ता प्रत्यक्ष होईनन भन्दा अहिलेसम्म ति प्रत्यक्ष भनेर पढ्नेले तिनका पत्रीकामा लेखेका कुरा अब कसरी पत्याउने ? ति अन्तर्वार्ता लिएका पत्रकारलाई कस्तो लाग्दो हो ? कि प्रचन्डले भन्दै नभनेका कुरालाई उरालेका हुन कान्तिपुरका पत्रकारले ? त्यसो हो भने किन अहिले सम्म त्यसलाई सार्वजनिक गरिएन त ? त्यति मात्रै होईन राष्ट्रियताको पक्षमा आफ्नो पार्टी एक नम्बर भएको दाबी गर्ने र बिदेशीका टिप्पणी र आलोचनालाई प्राय षड्यन्त्र भन्न रुचाउने माओवादी पार्टीको पहिलो नम्बरकै नेताले अहिले सम्म बल्ल एक पटक नेपाली पत्रकारलाई अन्तर्वार्ता दिएछन् किन ? नेपाली पत्रकारलाई दसौ बर्षसम्म एक पटक अनि बिदेशीलाई चाँही थुप्रै पटक किन ? तपाईंहरुको आन्दोलन कसकालागि हो ? कसको साथ लिएर गर्दै हुनुहुन्छ क्रान्ति ? दशबर्षे जनयुद्धका क्रममा मारिने १३ हजार मानिस नेपाली हुन कि बिदेशी ? के नेपालको समस्या बिदेशीले बोल्ने र लेख्ने गरेरै समाधान हुन्छ भन्ने भ्रम छ तपाईंहरुलाई पनि ? के तपाईंहरुले जनयुद्द सुरुनगर्नु हुदो हो त पत्रकारहरुका लागि नेपाल विश्वकै सबैभन्दा ठूलो जेलघरमा परिणत हुने ? तपाईंहरुका समाचार लेखेबापत आतंककारीलाई सहयोग गरेको भन्दै नेपाली पत्रकारले सास्ती भोगेका छन कि बिदेशी पत्रकारले ?धम्की खाने नेपाली पत्रकारले, घाटी रेट्ने नेपाली पत्रकारको अनि अन्तर्वार्ताको प्राथमिकता चाँही बिदेशीलाई ? नेपाली पत्रकारहरुले तपाईंको पार्टीका खबर नलेखेको भए बिदीशीले फाट्ट फुट्ट लेखेको भरमा तपाईंहरुको जनयुद्द 'टाउकोमा टेकेर ढाडमा हान्ने' अवस्थामा पुग्दो हो ? तपाईंको यही धम्की पनि कसले लेखेर नेपालीले थाहा पाए ? नेपाली पत्रकारले कि बिदेशी रु कामरेडहरुको बास बिदेशतिरै शायद बढी होला तर क्रान्ति त नेपाली माटोबाटनै चलेको छैन र ? तपाईंहरुका समाचार र कुन चाँही बिदेशीले शास्ती भोगेर प्रवाह गरेको छ जती नेपाली पत्रकारले ?
'कामरेडहरु' अति भएन र यो त ? नेपाली पत्रकारलाई भन्दा पहिले अन्तर्वार्ता र सूचना बिदेशीलाई दिन पाउदा खुशी हुने त नेकपा (एमाले), काङ्रेस, लगायताका पार्टी र दरबारियाहरुसमेत मनग्गै थिए। तपाईंहरुको पार्टी समेत थपिइनुपर्ने जरुरीनै थिएन नि। राज्य पुरै असहिष्णु भयो, नेपाली मिडिया जगत पुरैलाई धम्काउने, तर्साउने, जैलमा कोच्ने, यातना दिने, राज्यको ढूकुटी सकेर बिद्रोही बिरुद्ध एक जुट गराउन खोज्दापनि नेपाली पत्रकारले आफ्नो अडान छोडेनन्, बिद्रोहीलाई बिद्रोहीकै ढंगले हेरिरहे। दबाएर होईन कि तीनका उचित मागलाई सम्बोधन गरेर मात्र समस्याको दिर्घकालीन समाधान हुन्छ भन्ने अडान राखिरहे। अन्य राजनीतिक दल र तपाईंहरुका बिचमा हाल भएको १२ बुदे सहमती कायम गराउन के नेपाली पत्रकारको भूमिका महत्वपूर्ण छैन ? यति कुराको हेक्का राखे के कमरेडहरुकै पार्टीको भलो नहोला र ? नेपाल पाक्षीकमा कान्तिपूर दैनिकका संपादकको दावी एट्याच्मेन्टमा पढ्नुहोस।