Literates' role in the current democratic movement
Nandakrishna Joshi, a popular poet (in Lalitpur custody)
नन्दकृष्ण जोशी (प्रसिद्द देउडा गायक)
बिशेष लेख
नारायणहिटी भन्दा प्यारो गाउ“को झोपडी ।
राजा धेरै मोटाभए जनतालाई कोपरी ।।
वि सं २०५८ साल जेठ १९ गते शुक्रवारको राती शाह वंशको इतिहासमा मात्र नभएर नेपाली राजनीतिको एक महत्वपूर्ण पाटो मानिएको नारायणहिटी दरवारमा कहिल्यै भुल्न नसकिने अकल्पनीय घटना भयो। त्यो घटनाले एउटा राजवंशको २३५ वर्षपुरानो इतिहासको अन्त्य भयो।त्यसबेला नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला देशको प्रधानमन्त्री हुनुहुन्थ्यो भने नेकपा एमालेका महासचिव माघवकुमार नेपाल प्रमुख प्रतिपक्षी दलका नेता। संसदीय व्यवस्थामा विधायीका नै सर्वोच्च निकाय रहने प्रजातान्त्रिक सिद्धान्त अनुरुप सो हत्याकाण्डको छानविन केवल संसदले गर्नुपथ्र्यो। त्यतिमात्र नभएर त्यसपछिको नेपालको भूमिमा राजा बनाउने कि, विकल्प सोच्ने भन्ने गहनतम विषयमा जनताको सर्वोच्च निकाय सिंहदरवार स्थित विधायीकामा जनताका प्रतिनिधि २०५ जना सांसदका बीच छलफल हुनु जरुरी थियो। बहुदलीय व्यवस्थाको १२ र १४ वर्षे उमेरमा भएका केही गल्ति मध्ये हाम्रा देशका राजनेताहरुबाट मात्र नभएर सम्पूर्ण जनप्रतिनिधिहरुबाट पनि इतिहासमा भुल्नै नसकिने भूल भएको थियो, अहिले महसूस गरिदैछ।
सदैव राजनीतिक दलहरुलाई टुक्र्याएर सदा आफ्नो राजनीतिक अभिष्ट पुरा गर्ने सोच बनाउदै आएको दरवारका निम्ति त्यो समयले मलजलको काम गर्यो। जुन समय दरवार हत्या काण्डको छानविन नामक नाटक मञ्चनका लागि नेपाली कांग्रेसले सभामुख तारानाथ रानाभाटको नाम सिफारिस हुदा स्वीकारोक्तीको टाउको हल्लायो। सो छानविन टोलीले तत्कालिन युवराज श्री ५ दीपेन्द्रका हातबाट सबैको हत्या भयो र अन्त्यमा आफैंलाई गोलीहाने, अरु कुनै व्यक्तिबाट होइन भन्ने जो सुकै लाटालाई पनि शंका लाग्ने निष्कर्ष निकाल्यो।
बडो चखिलो हुदै देशमा राजतन्त्रको तन्तु छिनाउने सोचका साथ नेपाली राजनेताहरु भेला भए। परिणाम, आज्ञाकारी विद्यार्थीले गुरुका अगाडी आङ्खनो गृहकार्य बुझाएर दङ्ग परेझैं सुनको सिंहासनमा अधिराजकुमार ज्ञानेन्द्रलाई राज गराएर, सुनका असर्फीले ढोगेर दङ्ग परे नेताहरु। आङ्खना दाजु स्व. श्री ५ वीरेन्द्रको राजसिंहासनमा भाई श्री ५ ज्ञानेन्द्र कल्की सिउरेको नवरत्न जडित श्रीपेच पहिरेर राजसिंहासनमा आसीन भए। नया राजाले प्रजातन्त्र दिगो राख्ने, शान्तिकायम राख्ने, बहुदलीय प्रजातन्त्र प्रति दृढ विश्वास कायाम राख्ने आदि जस्ता मीठा सन्देश प्यारा देशवासीका नाममा प्रवाह गरे। सबैजना नेताहरुले २ करोड ७० लाख नेपाली भन्दा बढी विश्वास गरे, नया राजा श्री ५ ज्ञानेन्द्रको सन्देशमा ।
त्यसपछि नेपाली राजनीतिक आकाशमा एकपछि अर्को हुंदै कालो बादल मडारिने क्रम यसरी बढेर गयो कि भीषण राजनीतिक वर्षा नै भयो नेपाली धर्तिमा। त्यो भीषण राजनितिक बाढीले राजनीतिक पार्टीलाई दुई किनारामा फ्यालिदियो। सर्वोच्च निकाय संसदलाई बढारेर पाखा लगाईदियो, नेकपा (एमाले) लगायतका सम्पूर्ण राजनीतिक पार्टी वालुवा र ढुंगा मुढा पुर्याई दियो। राजनीतिक ओत नपाउदा प्रत्येक राजनीतिक पार्टीलाई दाजुभाई बीच राजनीतिक अंशको झगडा मात्र तुत्याइदियो। त्यतिबेला कुनै कुनै राजनीतिक कार्यकर्तालाई ओत दिने र पेट भरि खुवाउने झुटो आश्वासन दिलाउदै दरवार फेरि सल्वलायो। सल्वलाए मात्र राजनीति त्यति बिग्रीहाल्ने थिएन। राजनीतिक पार्टीलाई छिन्न भिन्न पार्दै कुनै नेतालाई अयोग्य घोषणा गरी खोरमा हाल्ने काम गर्यो भने बाकीकालाई सडकमा लठ्ठीले पुलिसका बुटले रगत आउने गरी हिर्काउने काम गरेको छ। फोहोर पानीको फोहोराले नुहाईदिने अनि अश्रूग्यासले अन्धोपारिदिने लगायतका जघन्य अमानवीय कामहरु राजाद्वारा खटाइएका अतिवादी समूहबाट भयो र भैरहेछ, विगत २, ३ वर्षेखि लगातार। जसको पछिल्लो परिणाम विगत ४०, ४५ वर्षेखि देशमा प्रजातन्त्र स्थापनाका लागि लडेका प्रजातन्त्रका लडाकूहरु अहिले पनि खुइलिएको तालु, चाउरी परेका गाला र झरिसकेका दात देखाउ“दै तेजिलो चस्माका सहायताले वन्दीगृहका अध्यारा र चिसाकोठाहरु नियाल्न बाध्य भैरहेछन। जसका साक्षी भईरहेछौं आधा कपाल फुलिसकेका युवाहरु र कलेजमा अध्ययन गर्ने कलिला विद्यार्थीहरु अनि मानवअधिकारवादीहरु।
गाउबाट उठौं जनता वस्तीबाट उठौं।
निरंकुशता फ्याल्न अव हामी सबै जुटौं।।
गत भदौ १० गते ऐतिहासिक कीर्तिपूरको नागरिक आन्दोलनमा यो प्रस्तोताले नेपालको प्राचिन लोक संस्कृति बोकेको सुदूरपश्चीमको झ्याम्म झ्याम्म लयमा देउडा गीत गाउदा विशाल जनलहर लोकतान्त्रिक देउडा सागरमा तैरिएको थियो। मानव अधिकारवादी नेता कृष्ण पहाडी र सडक लोकतान्त्रिक कवि अर्जुन पराजुलीले पनि जनसागरलाई राम्ररी तताएका थिए। त्यतिवेला वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले लोकतन्त्र स्थापनाका लागि नागरिक आन्दोलनमा यो त्रिवेणीलाई मेची महाकाली घुमाउनु पर्छ भन्नु भएको हिजो जस्तै लाग्छ। धेरै ठाउमा लोकतन्त्र स्थापनाका लागि स्वरहरु पस्कदै जादा दर्शकहरुले नेताका भाषण भन्दा स्रष्टाका आवाजहरु नै लोकतन्त्र स्थापनाका लागि अपरिहार्य हुदा रहेछन भनेको कुराको स्मरण हुन आउछ, बन्दीगृहमा बस्दा पनि अहिले। लामो कालखण्डसम्म देशका ठूला पार्टीले शासन चलाउने मौका पाए पनि स्रष्टाहरुको भनाईकालागि सोच मात्र बनाई दिएको भए स्रष्ठाहरु पाखा लाग्ने थिएनन्। संस्कृतिका लागि भलाई कोष स्थापना गरिदिएको खण्डमा नेपाली लोकतान्त्रिक संस्कृति लहलहाउने थियो, स्रष्टाहरुको आवाज अझ बुलन्द हुनेथियो। अफसोच संगीतमा र संस्कृतिमा अल्पसोचका कारण सत्तासीन हुनुभएका त्यसबेलाका हाम्रा नेताहरु मात्तिएर दिग्भ्रमित भए। यसको पीडा लोकतन्त्रका शुभेच्छुक सबैलाई भैरहेकोछ ।
विसं २०२८ सालदेखि जनताका गीतहरु गाएर समाजलाई क्रान्तिकारी सन्देश दिनुहुने गायक जे वी टुहुरे, रामेश र रायन लगायतका गीति स्वरहरु गुन्जीरहेको बेला कविहरु बैरागी काईला, आनन्ददेव भट्ट, डा तुलसी भट्टर्राई , हरिगोविन्द लुइटेल , निनु चापागाई , विष्णु विभू घिमिरे लगायत देउडा प्रस्तोता यो पंतिकार मात्र लोकतन्त्रका लागि सडकमा नओर्लेर ७५ वटै जिल्लाका स्वर भएका, कलम र कापी भएका र सुन्नका लागि कान भएका सम्पूर्ण लोकतन्त्रप्रेमीहरु विना दुराग्रह निरंकुश सत्तालाई सदाका लागि नेपाली भूमिबाट विदाई गर्न सडकमा, सदरमुकाममा तथा गाउ गाउमा चोकचोकमा ओर्लिनु जरुरी देखिन्छ। ढिला भै सक्यो, उठौं जागौं र लोकतन्त्र विरोधी कालो भूतलाई सदाका लागि देशबाट भगाऔं । त्यसैले भन्न मन् लाग्छ -
लोकतन्त्र ल्याउनलाई हामी अघि सरौ।
युद्व होइन शान्ति ल्याउन सधैं लागि परौं । झ्याम्म झ्याम्म ।।।।
मिति २०६२माघ २९ गते
(प्रसिद्द देउडा गायक तथा लोकतान्त्रिक आन्दोलनका स्रष्टा जोशी हाल निरङ्कुश सरकारको ललितपुर, जावलाखेलस्थित महिला विकास प्रशिक्षण केन्द्रमा बन्दी हुनुहुन्छ। उहाले यो लेख नेपाल इन्फो कालागि बन्दी अवस्थामै लेखेर पठाउनुभएको हो। )