The king is busy in the worship while the country is burning
Anuradha Paudel

काठमाडौ, माघ २१
अनुराधा पौडेल, फ्रान्स


विचार /विवेचना
अरु देशमा प्रसासन तथा राजनीतिलाई धर्मबाट विल्कुल अलग राखिन्छ। जस्तो कि फ्रान्समा क्रिश्मसको दिन प्रधानमन्त्री दोमिनिक दोभिल पां चर्चमा थिए। तर उनको साथमा सूरक्षा गार्ड थिएन। उनी सर्वसाधारण नागरिकहरुसंग बसिरहेका थिए। म आफै उनको सिटको ठीक अघिल्लो ठाउमा बसेको रहेको छु भन्ने कुरा निकै पछि चाल पाएको थिए। चुपचाप पादरीको स्तुतीगानमा सरीक भैरहेका उनको न त कुनै पत्रकारले तस्विर खिचेर प्रचार प्रसार गर्यो न त उनी चर्चमा गए भनेर कसैले टीका टिप्पणी गर्यो। न त उनले त्यहा बेकसुरको भाषण ठोके। फ्रान्समा प्रसासन र धर्मलाई विलकूल अलग गरिएको छ। यस्ता कार्यक्रममा प्रसासनिक तथा राजनीतिज्ञहरु सरिक हुन पाउछन् तर तिनले राज्यले दिएको सुविधा र राज्यका तर्फबाट भाग लिन  पाउन्नन । यतिसम्म की अरु दिन विजुलीको बेगमा गाडीमा दगुर्ने प्रधानमन्त्रीले त्यतिबेला सुरक्षा गार्डहरुलाई समेत प्रयोग गर्न नपाउने रहेछन्।
तर आज हाम्रो मुलुकमा राजा यतिवेला शक्तिपिठको उपासना गरेर निर्दोष जनावरलाई बली दिएको बासी मासुको भोज खादैछन्। धर्म गरेर शक्तिवान बन्ने उनको दाउलाई उनका भाटहरुले तथास्तु गर्दै सहयोग गरिरहेछन्। त्यतिमात्र नभै सूरक्षा अंगका चारै प्रमुखहरुलाई समेत धार्मीक काममा सरिक गराएर राष्ट्रको सम्पती भोजमा उडाइरहेका छन्।
धर्मभिरु राजाले यो बर्ष अत्यधिक रुपमा पूजा पाठमा समय विताएर राष्ट्रको सम्पती स्वाहा पारे। यो अन्तिम पटकको भद्रकालीको  पूजा निर्लज्ज र राष्ट्रिय कोषको दूरुपयोगको प्रमाण हो। आफु त पूजा पाठमा भूले भूले उनले देशसेवक कर्मचारीहरुलाईपनि भूलाए। राजाको प्रत्यक्ष शासनले एक वर्षगुजारेको उपलक्ष्यमा चार सुरक्षाअङ्गका प्रमुखहरुले भद्रकालीमा कडा सुरक्षाघेराका बीच पलेटी कसेर पञ्चबलि चढाउदै हिजो साझ गरेको पूजा-पाठले राजालाई एकदिन भोजखाने बाटो जुरेपनि नागरिकहरुका अागनमा खुसी छैन।
हिजो संसाझै शुरु भएको पूजा-आराधनामा जुटेका सूरक्षा निकाय र दरवारीया कर्मचारीहरुले  रागो, बोका, हास, कुखुरा र भेडाको बलि चढाएका थिए। राजाको साथमा रहेका राज्यका  चार सुरक्षा प्रमुखहरु शाही नेपाली सेनाका प्रधानसेनापति प्यारजङ्ग थापा, नेपाल प्रहरीका महानिरीक्षक श्यामभक्त थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक सहवीर थापा र गुप्तचर विभागका प्रमुख देवीराम शर्मा थिए। यिनीहरु राजाको सोझो गर्न त्यहा गएका हुन् अथवा राजालाई पूजापाट गर्न उक्साएर एक छाक भतेर गर्ने योजना उनीहरुले नै बनाएका हुन् त्यो कुरा थाह भएको छैन।
'युनिफाइड' को अवधारणाबमोजिम पूजापाठमा जुटेका सुरक्षा प्रमुखहरुले पूजा गर्ने ठाउमा  भद्रकाली, भैरव, कुमारी र गणेशसहित चारैथरि देवीदेउताको  उपस्थिति रहेको छ। पूजा-पाठमा जुट्नेहरुले अहिले साझ जङ्गीअड्डामा भेला भएर बासूमासु र रक्सीको खोलोमा बगेका छन्। हामी नेपालीहरु यस्ता राष्ट्रमारा राजालाई पालिरहेछौं। तर हामीले भन्नै पर्छ कि राष्ट्रिय सम्पतीको दूरुपयोग गर्ने यो तरिका तुरुन्त बन्द हुनुपर्छ । म नेपालको राजा हो र राजपरिवारको सबै सम्पती नेपालमै छ त्यसैले मेरा दाजु वीरेन्द्रको सम्मती राष्ट्रियकरण गर्न जरुरी छैन भन्ने राजासंग राजनीतिक पार्टीहरुले यसरी पूजा , पाठ र भोजमा स्वाहा गरिएको रकमको हिसाव किताव माग्न सक्नुपर्छ।  किनभने त्यो राज्यको सम्पती हो । राज्यको सम्पतीमा हरेक नागरिकको हक लाग्छ। भलै त्यो पैसा राज्यले पैसा रिण काढेर ल्याएको होस या अनुदानमा ल्याएको होस त्यो भनेको नागरिकहरुको रगत र पसिनाकालागि प्राप्त भएको हो । दातृ मुलुकले दिएको र नागरिकले कर तिरेको त्यो पैसा राजालाई पूजापाठ गर्न भनेर दिएका अवस्य होइनन।