
बहस कार्यक्रममा बोल्दै सायमी र अनुवाद गर्दै कल्पना घिमिरे
पेरिस, माघ २२
नेपालमा चलिरहेको प्रजातान्त्रिक आन्दोलनलाई समर्थन गर्ने तथा आन्दोलनले समातेको दिशाबारे जानकारी लिने उदेश्यले पेरिसमा एक राजनीतिक बहस कार्यक्रमको आयोजना गरियो। सप्ताहन्तमा आयोजना गरिएको उक्त बहस कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल शाखाका कोषाध्यक्ष स्नेह सायमीले नेपालमा चलिरहेको प्रजातान्त्रिक आन्दोलनले लिइरहेको गतिबारे आफ्ना भनाइ राख्नु भएको थियो।

कार्यक्रममा सहभागी फ्रान्सेली र नेपालीहरु
नेपालीद्धारा संचालित इन्डो नेपाल रेष्टुरेन्टमा खचाखच भरिएका स्वदेशी तथा विदेशीहरुका विच नेपालका राजनीतिक पार्टीहरुले राजाले आफ्नो कदमलाई आफै सच्याउनछन् कि भनेर शुरु शुरुमा पर्खिरहेको बताउदै उहाले भन्नुभयो- तर राजा आफ्नो कदममा टसमस भएनन। अधिकारकर्मीहरुले सुरु गरेको आन्दोलनलाई राजनीतिक उचाइदिन पार्टीहरु सडकमा आउन करै लाग्यो।
उहाले अहिले नेपालमा फ्रान्सेली क्रान्तिको निकै चर्चा हुनेगरेको बताउनुभयो। दुइ शय बर्ष अगाडि फ्रान्समा राजा फाल्दा देखिएको फ्रान्सेली क्रान्तिको बहादूरीपूर्ण इतिहास जस्तै अहिले नेपालको इतिहास छ, उहाले थप्नुभयो नेपालमा एक दिन फ्रान्समा जस्तै क्रान्ति सफल हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौं।

नेपालमा राजतन्त्रको इतिहास साढे दूय शय बर्ष पूरानो रहेको जानकारी दिदै उहाले नेपालको एकिकरण पश्चात राज्यका सारा स्रोतहरु दरवारीयाहरुका हातमा पूगेको विचार व्यक्त गर्नुभयो। शाहवंशले नेपालको एकिकरण गरे। तर एकिकरणसहित कृषि प्रधान नेपालमा जमिनको सारा प्रभुत्व दरवारियाहरुले आफ्नो पकडमा लिए; उहाले थप्नुभयो- दरबारलाई मन परेका मानिसहरुलाई देशको सम्पती बकस या विर्ताका रुपमा बाडिने प्रचलनको शूरुवात यसैकारण भयो। उहाले भन्नुभयो - राज्यको सम्पतीमा दाइ गर्ने तथा चाकडी र चाप्लुसीको संस्कार बसाल्ने प्रचलनपनि दरवारले नै गर्यो। देशको सारा स्रोतहरु दरवारको हातमा पुग्नु नै नेपाली जनता गरीव हुनुको प्रमुख कारण हो।
राजनीतिक दलहरुले विगत १२ बर्षमा थुप्रै गल्ती गरेपनि अहिले माओवादी र दलहरुविच भएको सहमती प्रजातन्त्रप्राप्तीको लागि सकारात्मक रहेको विचारपनि उहाले व्यक्त गर्नुभयो। कार्यक्रममा उहाले लक्ष्मी मालीको प्रजातान्त्रीक एक कविता र आफ्नै राजा श्रीपेच फुकाले जनतासमक्ष आउ भन्ने कविता सुनाउनुभएको थियो । जसलाई यहाका नेपाली र विदेशी दूवैले लामो तालीले स्वागत गरेका थिए।
नेपाली भाषामा दिनुभएको उहाको बक्तव्यलाई कल्पना घिमीरेले फ्रान्सेली भाषामा उल्था गर्नुभएको थियो। कार्यक्रममा सहभागी फ्रान्सेलीहरु तथा नेपालीहरुले नेपालको संभावित प्रजातन्त्र राजा रहित हुने या नहुने भन्ने जिज्ञासा राखेका थिए। नेपाली आन्दोलनले राजा राख्ने निर्णय गर्यो भने त्यो जनताकानिम्ती फेरि धोका हुन्छ भन्ने भनाइ उनीहरुको थियो।
विनोद खकुरेलको सक्रियतामा भएको उक्त कार्यक्रममा फ्रान्सको राष्ट्रिय विज्ञान तथा अनुसन्धान केन्द्रकी मारी ल कोंतले समेत नेपालको राजनीतिक घटनाक्रमहरुबारे बोल्नुभएको थियो। सरकार र माओवादी दूवैका बन्दुकहरु नेपालीहरुका पिडा र दुख हुन्न् भन्ने भनाइ उहाको थियो। कार्यक्रममा सहभागी नेपाली तथा फ्रान्सेलीहरुले समारोहमा नेपालको प्रजातान्त्रिक आन्दोलनप्रति एक्यबद्धता जनाएका थिए।