
एमाले कार्यकर्ता उमेशचन्द्र थापाको हत्याका विरोधमा आज राजधानीमा
निस्केको विरोध जुलुस । तस्विर: सालोक्य
काठमाडौं,माघ २७
निर्वाचन वहिष्कारको शान्तिपूर्ण आन्दोलनमा उत्रिएका एमाले कार्यकर्ताको बुधबार दाङमा गोली हानी हत्या गरिएको विरोधमा बिहीबार अधिराज्यभर प्रदर्शन भएको छ।
आन्दोलनरत सात दलले सेनाले एमाले कार्यकर्ता उमेशचन्द्र थापामाथि गोली हानी हत्या गरेको भन्दै बिहीबार राजधानीमा प्रदर्शन गरेका हुन भने पोखरा, नेपालगंज, जनकपुर, महेन्द्रनगर, झापा, धनकुटा, दाङलगायतका शहरमा पनि प्रदर्शन भए। थापाको शव यात्रासहित श्रद्धाञ्जली सभा गर्ने तयारी गरेका दलहरुलाई सेनाले शव भने दिएन। सरकारले थापा परिवारलाई बुधबार बेलुका नै शव जिम्मा लगाउने भने पनि बिहीबारसम्म दिएन। थापाको शव महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको बुझिएको छ।