Taranath Dahal, former FNJ president

तारानाथ दाहाल
पूर्व सभापती नेपाल पत्रकार महासंघ
विचार / विवेचना
निरंकुश सरकारले स्वतन्त्र समाचार माध्यमहरु माथिको आक्रमणको श्रूंखलामा शहरी सचेत नागरिकहरुको सूचनाको प्रमुख श्रोत मानिने टेलिभिजन माध्यमहरुलाई आम जनताको पहुँचबाट विमुख पार्ने तथा ती माध्यममाथि सरकारी नियन्त्रणलाई जवरजस्त पार्ने नयाँ षडयन्त्र अगाडि बढाएको छ। स्वतन्त्र सञ्चार माध्यमहरु लोकतन्त्रका आधारस्तम्भ हुन्। त्यसैले राजाको निरंकुशता लोकतान्त्रिक संरचनाहरु ध्वस्त पार्न उद्यत भैरहेको हो।
संचार प्रविधिमा भैरहेको द्रुततर परिवर्तनको एउटा प्रभावशाली अभ्यास हो- केबुल प्रणाली। अहिले टेलिभिजन र इन्टरनेट जस्ता सञ्चारका साधनहरु आम-उपभोक्ता माझ पुग्ने राजमार्गको रुपमा केबुल प्रणाली विकसित भएको छ। टेलिभिजन केबुलहरु नहुने हो भने आकासमा तछाड-मछाड गरी प्रवाहित भैरहेका कतिपय टेलिभिजन तरंगहरु कोठाभित्र रहेका टेलिभिजन सेटमा प्रवेश गर्न सक्दैनन। टेरेस्टेरियल प्रशारण प्रविधिका टेलिभिजनको युग प्रायः समाप्त भैसकेको छ। भू-उपग्रहीय प्रणालीद्वारा तरंगहरु प्रशारित हुने लहरले हामी कहाँ भर्खर विकसित भएका टेलिभिजन प्रशारण केन्द्रहरुलाई समेत प्रभावमा परिसकेको छ। त्यसैले देशभरीमा लगभग ४ सय केबुल प्रशारकहरुको अस्तित्व विकसित भैइसकेको छ। सञ्चार मन्त्रालयबाट स्वीकृति लिएका केबुलको संख्या ३ सय ३२ छ। गएको एक दशकमा यस प्रणालीको विकासमा १० अरब भन्दा बढी रकम लगानी भैसकेको अनुमान छ। more »