The Martyr road of Maoists in France

आलेख: नेपाल इन्फो र तस्विरहरु बिभिन्न श्रोत


माओवादीहरुको सक्रियतामा खनिएको सडक जुन पश्चिमाहरुकालागि अनौठो भइरहेछ। सडक खन्दा माहिला बालबालिका र बृद्ध बृद्धाहरुको प्रयोग भएको भन्दै यहाको टेलिभिजनले माओवादीहरुले मानवअधिकार उल्लंघन गरेको बताएका छन्।

विश्वका सर्बोच्च अग्ला हिमालहरु भएको देशमा कठ्याङग्रिने जाडो छ। आठ वर्षदेखि १३ वर्षका बच्चासम्म र दात फुक्लिसकेका वृद्धवृद्दा समेत बेल्चा समातेर सामेल भएका छन्। यस्ता वालवालिकालाईपनि माओवादीले स्कूलबाट थुतेर ल्याएका छन बाटो खनाउन। टल्किएको घाम हिमालमाथिबाट पुरै टाउकोमा परेको छ। सडकको धुलो उडेर बाटो खन्न सामेल सयौका टाउकामाथि पुरै भूमरी परेझै छ। धुलोले तुवालो लागेजस्तै देखिन्छ। त्यो धुलो हरेकका नाक र मुखबाट भित्र पसेको छ। महिलाहरु र बालबालिकाहरु थाकेका छन् । हात र गोडामा चोटपटक लागेको छ । तैपनि सकिनसकि बेल्चाबजारेका छन् पथ्थरमाथि। यसरि खनेको सडकलाई माओवादी बिद्रोहीहरुले जनयुद्दका क्रममा मारिएका शहिदहरुको सम्मानकोलागि भन्दै शहिदमार्ग नाम दिएका छन्।  


माओवादी आन्दोलनमा बृद्धाहरुको प्रयोगलाई पश्चिमाहरु मानवअधिकारको हनन गरिएको भनेर विरोध जनाउंछन्। फ्रान्सबाट निक्लेको एक पत्रिकामा प्रकाशित नेपाली बृद्धाको तस्विर।

माओवादीहरुले रुकुमको थवाङसम्म पुर्याउन लागेको एक सय किलोमिटर लामो सडक खन्दै गर्दाको चित्रण हो यो। यो चित्रण फ्रान्सेली पत्रकारद्वय भिन्सेन्ट प्राडो र निकोला जालीयाद्वारा एउटा डकुमेन्ट्रीमा गरेका हुन जसलाई यहाका थुप्रै संचार माध्यमहरुले निकै महत्वकासाथ प्रचारप्रसार गरिरहेका छन्। यि दुइ तन्नेरी पत्रकारको टिभी रिपोर्टले निकै चर्चा पाएको छ। यिनको रिपोर्टकाबारेमा यहाको प्रसिद्द साप्ताहिक पत्रीका द तेलेरामा, लिबेरासियो दैनिक, नोभेल अब्जेरभात साप्ताहिकले पाठकहरुलाइ हेर्नै पर्ने रिपोर्ट भन्दै आलेखकै रुपमा प्राथमिकताकासाथ छापेका छन्। फेब्रुअरि २३ मा नोभेल अब्जेरभातले माओवादीहरुलाइ इन्डोनेसीयाका खमेररुजहरुसङ्ग केहि हदसम्म तुलना गर्न सकिने भनेको छ। माओवादीबाट पिडीत भएर नेपालगन्ज आएर बसेका एक ब्यक्तिको भनाइ सार्वजनिक गर्दै माओवादी अत्याचारका बारेमा भनेको छ- यदि हामी माओवादीको पछाडी लागेनौ भने तिनले पिट्छन। तिनले भनेको नमाने टाउकोबाट तल ६ इन्च घटाइदिन्छन।


माओवादी जनसेनाकी एक महिला जो बच्चा भेटेको बेला दूध चुसाइरहिछिन् भने जनसेनाको कार्यक्रममापनि भाग लिइरहेकी छिन्। फ्रान्समा माओवादी युद्धमा महिलाहरुको उपस्थिति निकै राम्रो रहेको र त्यहा महिला र पूरुषबिच बिभेद नगरिएको भनेर सकारात्मक प्रचार भएको छ।

माओवादीको नजिक भएमा राजाका सेनाले मार्छन्। राजाका सेनाको नजिक भए माओवादीले हामीलाई मार्छन। त्यसो त रिपोर्टले राजा ज्ञानेन्द्रको निरङ्कुशताको झन धेरै आलोचना गरेको छ। राजाको भ्रमणलाइ मोजमस्तीसङ्ग तुलना गर्दै भनिएको छ-हिमाली भागको कठिन जिवन जिउन बाध्य छन नेपाली। गरिवीले जिवन जरजर छ। यातायातको सुबिधा नहुदा टाउकाको भरले बोकेरै जिवन चलाउनु पर्छ। निन्याउरो अनुहारका गरिव नेपालीलाई राजाको बिनासित्तीको महगो भ्रमणले कुनै महत्व राख्दैन। गत वर्ष देशको सम्पूर्ण शक्ति हातमा लिएका राजाको शरिर खाइलाग्दो छ। गाला भरिला छन। महङ्गा गहनामा टन्न सजिएकी पत्नीलाइ अघिपछि लगाएर सैनीकहरुको बिचमा घेरिएर हिड्छन राजा। अभावैअभावमा पिल्सिएका जनतालाइ आतङ्ककारीसंग भिड्ने भन्दै जनतालाइ सम्पर्क बिहिन पारेर आफु सैनिक हेलिकोप्टरमा घुम्छन्। नेपाली धर्तीका उनी एक तानाशाह हुन जसले नेपाली जनतालाई शहिद बनाइरहेका छन। उता प्रचण्डलाई चाहि आफु हिमाली भागको कुनै ठाउमा लुकेर वालसैन्य भर्ती गर्ने आफ्नै नीति लाद्ने महिला लडाकु तयार पार्ने गरेको उल्लेख छ। 


ला रुत दे मार्ती अर्थात शहिदको बाटो भन्दै माओवादी सडकलाई बिद्रोहीहरुको विकासलाई नेपालमा माओ फर्के भनेर उल्लेख गरिएको छ।

फ्रान्सेली भाषीहरुमा माओवादीहरु कसरि बस्छन् तालिम कसरि दिन्छन तिनले कसरि सन्चार सम्पर्क गर्छन्  भन्ने खुल्दुली थिए किनकि अहिलेसम्म याहाका सन्चार माध्यमले माओवादी सगै बसेर श्रब्य दृष्य रेपोर्ट दिएको यो नै पहिलो पटक हो। हुनपनि यि द्वय पत्रकारले १५ दिन सम्म माओवादीसगै बिताएर तिनका तालिम केन्द्रमा तालिम दिदै बेलाका तस्विर खिचेका छन्। काठमाडौको बगलामुखि स्कूलबाट कान्छी आमाले हेला गरेपछि रुकुम घर्तीगाउस्थित माओवादीको शेल्टरमा पुगेका १५ वर्षिय अर्जुन चौलागाइ लगायत यस्तै अन्य वाल सैन्य संगको वार्ता समेत छ । सडक खन्ने ड्रिल मेशिन जापानबाट कठमाण्डौ हुन्दै कसरी रुकुम लगे भन्ने चाखलाग्द दृष्य पनि छन। आफ्ना केहि अङ्गरक्षकहरुसंग बसेका माओवादीको गण्डक क्षेत्रप्रमुख् विप्लबको अन्तर्वार्ताले रिपोर्टलाई विश्वासिलो बनाएको छ।

फ्रान्सका स्वतन्त्र पत्रकार भिन्सेन्ट प्राडो । जसले सारै थोरै नेपाली शव्द बोलेका भरमा स्कूप माओवादीको स्कूप रिपोर्टिग गरेका छन्। यहा अहिले दैनिक र साप्ताहिक पत्रपत्रिका देखि टेलीभिजन समेतमा उनको रिपोर्टीग र माओवादी आन्दोलनका तस्विरहरु माग बढिरहेको छ।

बालबालिका वृद्दवृद्दा र सयौ गाउलेलाई जवरजस्ती वाध्य पारेर सित्तैमा खन्न लगाएको सडकको प्रचारप्रसार अन्तराष्ट्रिय रुपमा गराउन विप्लबले पहिलो पटक अन्तर्वार्ता दिएको रिपोर्टमा दाबी गरिएको छ। यस बाहेक यस प्रस्तुती भित्र माओवादीका स्थानिय तहका सभा सम्मेलन संचारको तरिका महिला छापामारहरुको स्वतन्त्रता सबै कुरा छन्।