
आज टुंडिखेलमा भएको आमसभामा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको खुबै माग भयो । उहां भने स्वास्थ्यको कारण उपस्थित हुन सक्नु भएन । अहिले उहांको जति माग छ, सुशिल कोइरालाको नहुनु स्वभाविक हो । त्यही कारण सुशिलले बोल्दा ढुंगामुढा नै भयो । हुन त २०४६ सालको जनआन्दोलन सफल भएको अवसरमा टुंडिखेलमै विजय सभा हुंदा गिरिजाप्रसादमाथि ढुंगामुढा भएकै हो, उनी त्यति बेला काग्रेसको महामन्त्री थिए । अहिले अर्का कोइरालाले ढुंगा खानु पर्यो, उनी काग्रेसको उपसभापति हुन । आन्दोलनपछिको विजय सभामा ढुंगा खाने नै यो देशको नेता भएको बेला सुशिललाइ पनि त्यही अवसर मिलेको हो वा के हो त्यो त भविश्यमा देखिने नै छ ।
आज त सात दल तथा जनआन्दोलनकै प्रमुख नेता गिरिजा नआउंदा बबण्डर भयो नै, भोलि माओवादीले टुंडिखेलमै आमसभा गर्दैछ, त्यहां चाहिं प्रचण्ड झुल्किएलान त भन्ने आम चासो छ ।
सात दलको आयोजनामा बिहीबार खुलामञ्चमा विशाल आमसभा भएको छ। सभाका सबै वक्ताहरुले संविधानसभाको पक्षमा बोलेका छन्। आमसभामा आएका जनताले प्रस्तावित प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको अनुपस्थितप्रति कडा आक्रोश जनाएका थिए।
परेवा अनलाइनले सभा हुदाहुदै दिएको समाचार अनुसार सात दलका शीर्ष नेताहरुले निशर्त संविधानसभा हुनेपर्ने अधिकांश वक्ताहरुको भनाइ थियो। संसद पुनर्स्थापना गर्ने राजाको शाही घोषणापछि विजय जनसभाको रुपमा आयोजना गरिएको सभालाई सम्बोधन गर्ने सबैजसो नेताहरुले राजतन्त्रबिहीन संविधानको निर्माण गरिनुपर्ने जनाए।
एमालेका महासचिव माधवकुमार नेपालले जनआन्दोलन दबाउन सक्रिय रहेकाउपर कारवाहीका लागि शक्तिशाली आयोग गठन गर्न माग गर्नुभयो। उहाँले सुरक्षा निकायका प्रमुखहरुलाई मुलुक जनताको भएको हुँदा जनइच्छामा परिचालन हुन आहृवान गर्नुभयो। संसद नचलेको अवधिको सांसद भत्ता नलिने जनाउँदै महासचिव नेपालले दैनिक भत्ता पनि अस्वीकार गरिने जनाउनुभयो।
राजाका निरंकुश शासनका प्रमुख मतियार डा। तुल्सी गिरी र कमल थापाहरुलाई कारवाही गरिनुपर्नेमा उहाँले विशेष जोड दिनुभएको थियो। सभामा गिरिजप्रसाद कोइरालाको अनुपस्थितिलाई आमजनसमुदायले षड्यन्त्रकको रुपमा लिंदै बारम्बार हुटिङ गरेपछि एमाले महासचिव नेपालले दोस्रो पटक पनि सभालाई सम्बोधन गर्नुभएको थियो। उहाँले भावी प्रधानमन्त्रीले जनताका सामु शपथ लिने पनि आश्वसन दिनुभएको थियो।
नेपाली कांग्रेस प्रजातान्त्रिकका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राजाले फेरि पनि धोखा दिनसक्छन् भन्नु हुँदै संविधान सभा ल्याएरै छोड्ने बताउनुभयो। राजाद्वारा दुई पटक बर्खास्थगीमा पर्नुभएका पूर्व प्रधानमन्त्री देउवाले हँसेउली पारमा भाषण गर्दै अब संविधानसभाको विकल्प खोज्नु नुहने बताउनुभयो।
श्री ५ को सरकारको ठाउँमा नेपाल सरकार हुनुपर्नेमा देउवाको जोड थियो।
सभालाई सम्बोधन गर्दै संयुक्त जनमोर्चाका अध्यक्ष अमिक शेरचनले निशर्त संविधानसभामार्फत गणतन्त्रमा जानुपर्ने धारणा अघि सार्नुभयो। हेलिकोप्टर राखेर भाग्न तयार भएका राजालाई त्यहीँ राख्ने प्रयास भइरहेको छ भन्दै शेरचनले माओवादी सहितको अन्तरिम सरकार गठन गर्नुपर्नेमा जोड दिनुभयो।
जनआन्दोलन सात दलले मात्र अहिलेको अवस्थामा नआएको बताउँदै शेरचनले माओवादीका लाखौं कार्यकर्ताहरु शान्तिपूर्ण रुपमा सडकमा ओर्लिएपछि यो सम्भव भएको बताउनुभयो। माओवादीसित आन्दोलनका लागि अघोषित सहमती भएको सत्यतालाई बंग्याउनु नहुने उहाँको धारणा थियो। निशर्त संविधानसभामा जान राजाले व्यवधान खडा गरेमा एक सूत्रीय रुपमा लोकतान्त्रिक गणतन्त्रमा जानुपर्ने शेचरनले बताउनुभयो। यसअघि बोल्नुहुँदै नेपाल सद्भावना पार्टी आनन्दीदेवीका भरत विमल यादवले राज्यको पुनसंरचना हुनुपर्छ भन्नुभएको थियो। आमसभालाई सम्बोधन गर्दै भारतीय कम्युनिष्ट पार्टीका कार्यकारी सदस्य अतुल रञ्जनले नेपालमा राजतन्त्रको अौचित्य समाप्त भएको बताउनुभयो।
नेपाल बार एशोसिएशनका अध्यक्ष शम्भु थापाले जनआन्दोलन दबाउन मुख्य भूमिका निर्वाह गर्ने कमल थापाहरुलाई राजनीति गर्न नपाउने गरी सजाय गर्नुपर्छ भन्नुभयो। मओवादीले भनेजस्तो बिनाशर्त संविधानसभाको निर्वाचान हुनुपर्ने उहाँको धारणा थियो।
एमाले नेता साहना प्रधान, प्रभु नारायण चौधरी एवं नेपाल पत्रकार महासंघका सभापित विष्णु निष्ठुरीले पनि सभालाई सम्बोधन गर्नुभएको थियो। सभास्थलमा अधिकारवादी नेता कृष्ण पहाडी, हाँस्यकलाकारहरु मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्य समेत उपस्थित हुनुहुन्थ्यो। कार्यक्रम सुरु हुनुअघि खुलामञ्चमा नेपाली कांग्रेसका सभापित गिरिजाप्रसाद कोइराला नआउने भनेपछि २० मिनेट जति तनाव भएको थियो। आक्रोशित जनतालाई साम्य पार्न एमाले महासचिव माधवकुमार नेपालले कोइरालाले प्रधानमन्त्रीको शपथ ग्रहण जनताका सामु गर्ने आश्वसन दिएपछि केही शान्त भएको थियो।
कोइराला अस्वस्थ हुनुभएको भन्दै आमसभामा घोषणा गरेपछि उपस्थित हजारौं जनताले हुटिङ गरेका थिए। उनीहरुले कोइरालाले राजासँग शपथ ग्रहण गर्न नजान चेतावनी दिँदै जनतासँग शपथ लिन आह्वान गरेका थिए। आजको आमसभामा हजारौं जनताको उपस्थिति रहेको थियो। उनीहरुले नेताहरुलाई निशर्त संविधानसभामा जान खबरदारी गर्दै नाराबाजी गरेका थिए। भरिभराउ भएको खुलामञ्चको बीचमा ुप्रधानमन्त्री शपथ ग्रहण नारयणहिटीमा होइन खुलामञ्चमा गर्नुपर्छु लेखिकएको ठूलो ब्यान राखिएको थियो।
सभालाई व्यवस्थित गर्न १ हजार स्वयंसेवक परिचालन गरिएको थियो। सभास्थलमा नेवि संघ र तरुण दलका कार्यकर्ताहरु एकातिर र अनेरास्ववियु र प्ररायु संघका कार्यकर्ताहरु अर्कोतिर रहेका थिए। रत्नपार्क, महाबौध्द, पुरानो बसपार्क लगायतका स्थानहरुमा समेत सुनिने गरी साउण्ड सिस्टम मिलाइएको छ। आजको कार्यक्रमको लागि ३० वटा भन्दा बढी माइकको व्यवस्था गरिको छ। सभाका सहभागीहरुका लागि खानेपानी, प्राथमिक उपचारका लागि स्वास्थ्य शिविरहरुको पनि व्यवस्था गरिएको छ।