Meeting of HoR kicks off

नेपाली जनताले ज्यान खेर फालेर आएको जनताको नासो प्रतिनिधि सभाको बैठकको पहिलो दिन त्यहां दरबारिया भूतको प्रवेश भएको छ । यो लोकतन्त्रप्रेमीहरुका लागि ग्लानी र घृणाको विषय हो । हुन त उनीहरु बैठक कक्षमा छिर्दा सबैले शंकाको दृष्टि लगाए, कसैले पुछेनन । शुक्रबार भएको बैठकमा राजाको निरंकुशताको चरम उत्कर्षका बेला शाही मन्त्रिपरिषद्का सदस्य भएका बृद्धिमान तामाङ र अर्का वृजेशकुमार गुप्ताको संसदमा अनुहार देखिनुलाइ निश्चय नै दुखद मान्नुपर्छ ।

जनताको छोराछोरीले लडेर ल्याएको संसदमा यस्ता घृणित अनुहारलाइ वहिष्कार गर्नुपर्छ । यिनलाइ सिंहदरबारको गेटभित्रै छिर्न दिनु हुंदैन । यदि यी प्रेतहरुको मनोबल बढयो भने भोलि प्रकाश कोइराला, नारायणसिंह पुनलगायतका निरंकुश सत्ताका मतियारहरु जनताको थलोमा आएर भाडभैलो मच्चाउन के बेर । अनि राजदण्ड समेत नल्याइ गरिएको संसद बैठकको औचित्य नै के बांकी हुन्छ र । र बैठकको अध्यक्षता गरिरहेकी उपसभामुखले दरबारबाट आएको सन्देशहरु पढेर सुनाउनु अर्को भूल हो ।

प्रतिनिधि सभाको बैठक भरर््खर्र सकिएको छ । आज ढिलो गरी बैठक भएको थियो, एकै छिनमा टुंगियो । खासगरी सात दलका अगुवा नेता एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला स्वास्थ्यको कारण आउन नसकेकाले बैठक ढिला भएको हो ।

यद्यपी कोइरालाले संविधान सभाको प्रस्ताव पेश गर्नु भएको छ । यो चाहिं ऐतिहासिक काम भएको हो । राजनीतिक संटक हल गर्न तत्काल नयां संविधान निर्माण गर्नु परेकाले यो प्रस्ताव पेश गरेको कोइरालाले पठाएको प्रस्तावमा उल्लेख छ । प्रस्ताव उपसभामुख यादवले पढेर सुनाउनुभएको थियो । प्रस्तावको समर्थन संसदभित्रका आन्दोलनकारी सबै दलका नेताले गरेका छन । यो प्रस्ताव छलफलका लागि पेश भएकाले आइतबारका लागि पुनः बैठक डाकिएको छ ।