Prachanda in home minister's car  

अहिलेसम्म माओवादी र नेपाल सरकारमा रहेका सात राजनीतिक दलका ठूला नेताबीच बिहान ११ बजेदेखि भइरहेको वार्ता टुंगिएको छैन । यो वार्ताको परिणाम के आउला भन्ने जिज्ञासा अहिलेनै मेटाउन सकिएन । अनुमान चाहिं गर्न सकिन्छ-त्यहां माओवादीले संसद विघटन, राजनीतिक सम्मेलन र अन्तरिम संविधानको माग गरिरहेको होला । सरकारले भने प्रतिनिधि सभा विघटन नगर्ने बरु शक्तिशाली अन्तरिम सरकार गठन गर्ने अडान राखिरहेको होला । तर वास्तविकता राति अबेरसम्म खुल्नेनै छ ।

तर म यहां वार्ताको रोचक पक्ष उल्लेख गर्न चाहन्छु । १८ असोज २०५९ मा राजाले निर्वाचित प्रधानमन्त्रीलाइ वर्खास्त गरी निरंकुश सत्ता शुरु गरेपछि वार्ताका लागि हेलिकोप्टरमार्फत नारायणहिटी राजदबारमा गएका प्रचण्ड आज भने जनताको छोरो नै प्रधानमन्त्री हुने र बस्ने सरकारी निवास वालुवाटार छिरेका छन । उनी बिहान पोखराबाट आएका रहेछन । उनलाइ लिन गृह मन्त्री कृष्ण सिटौला नै पोखरा पुगेका थिए ।

डाइनेष्टी एयरको हेलिकोप्टरमा उनी राजधानी आएका रहेछन । उनले आफनी जीवनसंगीनी र राजनीतिक संगी दुबैलाइ साथमै लिएर आएका रहेछन । मैले यो सबै कुरा किन भनिरहेको हंु भने उनी के मा एयरपोर्टबाट बालुवाटार आए भन्ने चाहिं रोचक छ । उनी गृहमन्त्री कृष्ण सिटौलाको झण्डा हल्लिदै हिडने सरकारी कालो र चिल्लो कारमा चढेर बालुवाटार आएका रहेछन । यो कारमा सरर उनकी जीवन साथी सिता पौडेल र राजनीतिक सहयोगी डा. बाबुराम भट्टराइ पनि आएका रहेछन । राजधानी बाहिरका विभिन्न शहरमा पंजेरो चढेर निकै ठाटसाथ प्रकट हुने प्रचण्ड राजधानीमा चाहिं झण्डा हल्लेकै गाडीमा चढेपछि माओवादीका अरुले पनि यस्तै झण्डा हल्लाउने गाडी चढन अब धेरै दिन कुर्न नपर्ने संन्देश दिएको छ ।

बिहान ८ बजे बालुवाटार छिरेका प्रचण्डले त्यहांभित्र के कुरा गरे, के गर्लान भनेर अनुमान गर्न गाह्रो छ । नेपालका एफएमहरुले उनले कस्तो कपडा लगाएका थिए भनेर समेत समाचार दिइरहेका छन । अहिले २ सय भन्दा बढी संचारकर्मी बालुवाटार बाहिर ढुकेर बसेका छन । तर त्यहां न कसैले फोटो खिच्न पाएको छ न कुनै सूचना । फोटो खिच्न नदिएको विरोधमा पत्रकारहरुले धर्ना समेत दिएका छन । तर यस्तो धर्नाले माओवादीलाइ के छुन्थ्यो र किनकी उनीहरु १० वर्ष बन्दुकै बोकेकाहरु हुन । माओवादी सैनिक र सरकारी सुरक्षाकर्मीले प्रचण्डलाइ घेरेर बालुवाटार छिराउनुले यही बताउछ ।

सरकार र माओवादी दुबै तर्फबाट अहिलेसम्म कुनै सूचना चुहिएको छैन । मलाइ त यो वार्ता कतै भित्रभित्र नाटकमात्र र जनतालाइ भुलाउने खेलमात्र लागिरहेको छ । सबै कुरा पहिल्यै मिलाएर नाटक रचिएको जस्तो लागिरहेको छ । विगतका दुइ वटा वार्ता एक-एक घण्टामै कुनै विवाद बेगर टुंगिनु पनि यसैको संकेत हो ।

उसो त यो वार्ता अरु शक्तिबीच नभएर गिरिजा र प्रचण्डबीच भइरहेको छ । यिनीहरुको कुरा मिले भैहाल्यो अरुको मतलब नै छैन । आज बिहान एमालेका महासचिव माधवकुमार नेपालले उनीहरुबीच के विषयमा वार्ता भयो भनेर खुल्नु पर्ने समेत बताएका छन । बिहान प्रचण्ड र गिरिजाबीच लामै वार्ता भएको थियो । त्यसमा के भयो अत्तोपत्तो छैन । अहिले सातै दलका नेता र माओवादीबीच वार्ता भइरहेको छ । यो वार्ता किन यति अपारदर्शी भयो भनेर म आश्चर्यमा परिरहेको छु । अब कति खटाएरमात्र सूचना दिने हुन त्यो चाहिं अलि भरेमात्र थाहा होला ।