Time for search King Birendra's murder

Ram Prasad Dahal

रामप्रसाद दाहाल

आज १९ जेठ अनि शुक्रबार पनि । तपाइलाइ याद आएन, राजा विरेन्द्रको वंश नाश गरिएको ०५७ सालको । तर भावुक नबन्नुस किनकी यो कवि, साहित्यकार या गीतकार भएर आंसु चुहाएर केही हुने समय होइन । बरु अठोट गरौं विरेन्द्रको हत्यारा चिन्ने र उचित सजाय दिने । देश विदेशमा शंका छ, विरेन्द्रको हत्या उनकै भाई अर्थात वर्तमान राजा ज्ञानेन्द्रको लामो कसरतको करामत भनेर । यद्यपी यसको गहिरो अनुसन्धान जरुरी छ । केबल मरेका तत्कालिन युवराजाधिराज अर्थात कोमामा बसीबसी २ दिन राजा भएका स्वर्गीय दीपेन्द्रले यो वितण्डा मच्चाएका हुन भनेर पन्छिने बेला छैन ।

संयोग नै मान्नुपर्छ, जनताका प्यारा राजा विरेन्द्रको वंश नास हुने गरी भएको राजदरबार हत्याकाण्डका बेला प्रधानमन्त्री रहेका गिरिजाप्रसाद कोइराला अहिले पनि त्यही पदमा पुगेका छन । उति बेला दरबारसंग सांठगांठ गर्ने कोइराला यो पटक भने दरबारसंग नझुकी आन्दोलन हांकेर नै जनताकै सिफारिसमा यो पदमा पुगेका छन । उति बेला ज्ञानेन्द्रलाइ राजा बनाउन भूमिका खेलेका यी बुढा प्रधानमन्त्री अब दरबार हत्याकाण्डको छानवीन गर्न कत्तिको तयार होलान त्यो हेर्न बांकी छ ।

पहिल्यैदेखि हत्याकाण्डको स्वतन्त्र छानवीन हुनुपर्ने कुरा उठिरहेको छ । संसदबाटै छानवीन हुनुपर्ने कुरा उठिरहेको छ । उतिबेला तत्कालिन प्रधानन्यायाधीशको अध्यक्षतामा बनेको समितिले केबल तथ्य लुकाउने काममात्र गरेको थियो । राजा ज्ञानेन्द्रले यो तथ्य थप लुकाउने प्रमाण बलियो बनाउन पूर्व सैनिक सचिव शान्तकुमार मल्लको संयोजकत्वमा आन्तरिक छानवीन समिति पनि बनाएका थिए । त्यसपछि छानवीन रोकियो । त्यसैमा सबै अलमलिए । अब भने नयां नेपालको परिकल्पना गरिएको छ । लाखौलाख जनताले सडकमा उत्रिएर निरंकुश राजा ढालिदिएका छन । अहिले राजा अन्तरिम छन, यिनको २३७ वर्षको वंश परम्परा टुटेको छ । यिनि त अहिले अतिथि राजा हुन, इतिहासमै सबै भन्दा कमजोर, निकम्मा । फलाम तातेको बेला हिर्काउनु पर्छ भन्ने उखानै छ, यही बेला हो दरबार हत्याकाण्डको वास्तविक छानवीन गरी हत्यारालाइ कारबाही गर्ने । यो काम सात दलले गर्नुपर्छ, उसले गर्न नचाहे माओवादीले यसका लागि दवाव दिनुपर्छ । हुन त आजै माओवादीको खुल्लामञ्चमा आमसभा छ, त्यहां यो कुरा उठला नउठला हेर्न बांकी छ । उति बेला राजा ज्ञानेन्द्रले आफू जोगिन 'स्वचालित हतियारबाट हत्याकाण्ड' भएको हास्यास्पद तर्क गरेका थिए । अब त्यो स्वचालित हतियार पारसतिर किन तेर्सिएन, अहिलेकी रानी कोमलतिर किन तेर्सिएन, त्यो हतियार चल्ने रात नै ज्ञानेन्द्र पोखरामा किन बास बसे भनेर खोज्नुपर्छ । सम्झनाका लागि मैले त्यति बेलाको केही फोटा यहां समावेश गरेको छु । सबै फोटो विदेशी समाचार एजेन्सीहरुबाट लिइएको हो ।

राजा विरेन्द्रको लास आर्यघाट लगिदैं ।

तत्कालिन हत्याकाण्डको अभियोग लागेका युवराजाधिराज एवं दुइ दिन कोमामा रहीरही राजा भएका दिपेन्द्रको लास जलाइदै ।

राजा विरेन्द्र, रानी ऐश्जर्य, युवराज्ञी श्रृती, युवराज निराजनलाइ आर्यघाट लादै गर्दा जम्मा भएका भावविहृवल जनता, राजपरिवारलाइ जोगाउन नसकेको भन्दै उनीहरुले प्रधानमन्त्री कोइरालालाइ समेत ढुंगामुढा गरेका थिए ।

विरेन्द्रको वंश नास ज्ञानेन्द्रले गराएको आशंका हुंदाहुंदै उनलाइ राजा बनाएपछि दरबार बाहिर देखिएको दृश्य । जनताबाट जोगिन राजाले दरबार पुरै सुरक्षाकर्मीको घेरामा राख्नु परेको थियो । त्यतिबेला करफू लगाइएको थियो, रहस्यमय हत्याकाण्डको तथ्य बाहिर ल्याउन माग गर्दै सडकमा उत्रेका जनतामाथि गोली र अश्रूग्यांस हानिएको थियो । त्यसबाट दुइको मृत्यु भएको थियो भने दर्जनौ घाइते भएका थिए ।