Both army have a mistakes

लोकतन्त्र आएपछि शाही नेपाली सेनाको नाम फेरिएको थियो-नेपाली सेनामा । व्यवहारमा भने शाही सेनाकै रहेछ । अस्ती एक जना जर्नेलले माओवादी अध्यक्ष प्रचण्डले हालै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएर विज्ञप्ति जारी गरे । 'सुगौली सन्धीपछि शाही सेनाले नेपाली जनता मार्ने र चेली बलात्कार गर्ने बाहेक केही नगरेको' भन्ने प्रचण्डको अभिव्यक्तिमा आपत्ति जनाउदै सैनिक प्रवक्ता नेपालभुषण चन्दले विज्ञप्ति दिएका थिए ।

अहिले नेपाली राजनीति यही विज्ञप्तिको वरिपरि घुमिरहेको छ । एउटा जर्नेलको विज्ञप्तिले राजनीतिमा यति चर्चा पाउनु लज्जास्पद हो । राजनीतिक शक्तिले त ती जर्नेललाइ तुरुन्तै कारवाही गर्ने हिम्मत गर्नु पर्छ । उल्टै मन्त्रीले उनको खण्डन गर्ने र गाली गर्ने होइन । हिजो कृषि मन्त्री महन्थ ठाकुरले यस्तै निरिहता प्रकट गरेका छन । आज गृह मन्त्री कृष्ण सिटौलाले पनि 'सेनाले गल्ती गरेको' प्रतिक्रिया दिए । उता दुइ जना - कार्यवाहक प्रधानमन्त्री केपी शर्मा ओली र अमिक शेरचनले आ-आफनो पाराले यो विषयमा 'डिल' गरे । शेरचनले रक्षा सचिव विष्णुदत्त उप्रेतीसंग मौफिक स्पष्टिकरण लिएछन, ओलीले सेना प्रमुख प्याराजंग थापा र अर्का एक जर्नेलसंग सोधपुछ गरेछन । त्यसपछि ओलीले त सैनिक प्रवक्ताले भन्दा अगाडि बढेर प्रतिक्रिया दिएका छन । उनले 'प्रचण्डले सुगौली सन्धीपछि सेनाले नेपाली जनता मार्ने र चेलीबेटी बलात्कार गर्ने बाहेक केही नगरेको भनेको हो भने' त्यो गलत हो भनेका छन । नेपाली जनता मार्ने र बलात्कारबारे माओवादी सेनामा पनि छानविन गर्नु पर्ने तर्क गरेका छन । उनको यो तर्कमा भने दम छ । वास्तवमा पछिल्लो लडाइमा सेनाले नेपाली जनता मार्ने र बलात्कार गर्ने काम गरेकै हो । यो दुबै सेनाबाट भएको छ । यस्ता समाचारहरु पनि बारम्बार आएकै हो । १५ हजार नेपाली जनता यी दुबै सेनाबाटै मारिएका हुन । यसमा कोही चोखो छैन । बलात्कारको पनि हिसाबकिता हुनुपर्छ । कति जना चेली बलात्कार भएका छन, त्यो तथ्यांक पनि बाहिर आउनु पर्छ । यो अभियोगबाट दुबै सेनालाइ उम्कनु दिनु हुदैन ।

रक्षा मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला अहिले उपचारका लागि बैंककमा छन । उनी फर्केपछि यो विषयमा के होला त्यो भने हेर्न बांकी छ । अनि थाहा हुने छ-प्रचण्डले आशा गरेजस्तो 'राजनीतिक तहबाट प्रतिक्रिया आउने नआउने' बारेमा । तर प्रचण्डले पनि आफना सेनाको कमजोरी लुकाएर नेपाली जनतालाइ भ्रममा राख्ने छैनन भन्ने आशा जनताले राख्नु स्वभाविक हो ।