King exercising another poly: pahari
प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला आज सांझ ६ बजे भारत भ्रमण सकेर देश फर्कदै छन । उनले भारतसंग नेपालको हित हुने काम गरे कि अहित भन्ने रहस्य खुल्दै जाला, विश्लेषणहरु होलान ।
यहां चाहिं उनी जांदा टेलिभिजनका पर्लाहरुमा देखिएको दृश्यको एक झलक दिन खोजिएको हो, त्यो के हो भने उनले अरु कसैसंग हात मिलाएनन तर जनतालाइ सधै दमन गर्ने नाम फेरिएको चरित्र नफेरिएको नेपाल सेनाका प्रमुख प्याराजंग थापासंग । यसले के देखाउंछ भने अहिले पनि राजाकै संरचनाको हालीमुहाली यस देशमा छ ।
यो पृष्ठभूमीमा राजा अझै रहलान र उनले फेरि जनता विरुद्ध षडयन्त्र गर्लान भन्नु अति नहोला । यही प्रसंगमा म अस्ति राजधानीमा भएको एउटा कार्यक्रममा चर्चित मानवअधिकारवादी नेता कृष्ण पहाडी र जनमोर्चाका नेता लिलामणी पोखरेलले भनेको तर कहिं कतै सार्वजनिक नभएका गम्भीर विषयहरु राख्न चाहन्छु ।
पहाडीले नेपाल पत्रकार महासंघले गरेको अन्तक्रियामा प्रधानमन्त्री कोइरालाले राष्टिय मानवअधिकार आयोगका पदाधिकारीलाइ राजीनामा दिन गरेको आग्रह अनुसार आयोगका पदाधिकारीहरु राजीनामा दिने मनस्थितिमा देखिएका थिए । तर, दरबारले मौका पर्नासाथ फेरि माघ १९ दोहोर्याउनु पर्छ, राजीनामा चाहिं नदिनू भन्ने हृवीप जारी गरेकाले उनीहरुले अहिले राजीनामा नदिने अडान राखिरहेका छन । पोखरेलले चाहिं प्रमुख निर्वाचन आयुक्त केशवराज राजभण्डारीको प्रसंग निकालेका थिए । उनलाइ पनि गिरिजाले राजीनामा दिन भनेको तर दरबारको आदेशपछि नदिएको बुझिएको छ । अहिले पनि निर्वाचन आयोग, राष्टिय मानवअधिकार आयोग, लोक सेवा आयोगलगायतमा निरंकुशतावादीहरुले लाजै नमानी कुर्सी कब्जा गरिरहेकै छन ।
उसो त प्याराजंग थापाले राजीनामा नदिनुको कारण पनि त्यही हो । अहिले पनि राज्यका संरचनाहरुमा राजाका व्यक्तिहरुको हालीमुहाली छ । उनीहरु हरेक संरचनामा जबरजस्ती बसिरहेका छन । यसले चाहिं पहाडीले भने जस्तै राजाले १९ माघ दोहोर्याउन ती जनविरोधीहरुलाइ पद नछोडन आदेश दिएको हो भन्ने नै देखाउंछ । राजा ज्ञानेन्द्रको सत्ता संचालन गर्ने महत्वकाक्षां बांकी नै छ । तसर्थ सबै होसियार रहनु पर्ने अवस्था छ । ५० लाख भन्दा बढी जनता एकैसाथ सडकमा उत्रेर आएको लोकतन्त्र जोगाउन र राजाको चलखेल रोक्न सजग रहनु जरुरी देखिएको छ ।