Prachanda meets army chief thapa 

  

शाही नेपाली सेनाको चरित्र र सांगठनिक संरचना नफेरिए पनि नाम फेरिएको छ । यसका बारेमा अहिले विभिन्न बहसहरु भइरहेको छ । कसैले सेनालाइ भंग गर्नु पर्ने तर्क गरिरहेका छन, कसैले यसको लोकतान्त्रिकरणमा जोड दिएका छन । कसैले यसको विद्यमान ९० हजारको संख्या घटाउनु पर्ने कुरा गरिरहेका छन । उसो त लोकतान्त्रिक आन्दोलनमा उत्रेका निहत्था जनतामाथि गोली बर्षाएर ज्यान लिने सेनाका प्रमुख प्याराजंग थापा अझै त्यो पदमा कायम रहनुले यी बहसलाइ फिक्का पारिदिएको छ । उनीमाथि कारवाही नहुनु रहस्यको विषय हो । उनलाइ प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले काखी च्यापेको चर्चा चलिरहेको छ । यही प्रसंगमा कोइराला र प्याराजंगबीच आजै आधा घण्टा कुराकानी भएको छ । सम्भवतः माओवादीको हतियार व्यवस्थापन र नेपाली सेनाबारे चलिरहेको चर्चाबारे कुरा भयो होला ।

तर यही बीचमा अर्को खतरनाक कुरा आएको छ । आज प्रकाशित घटना र विचार साप्ताहिकले माओवादी अध्यक्ष प्रचण्डले सेना प्रमुख प्याराजंग थापासंग गुप्त कुराकानी गरेको रहस्य खोलिदिएको छ । यो निक्कै गम्भीर विषय हो । संसदवादी दलहरुले पुलपुल्याइरहेको सेनाप्रति माओवादी अध्यक्ष प्रचण्ड समेत नतमस्तक हुनु खेदको कुरा हो । प्याराजंग प्रेमबारे प्रचण्डले सार्वजनिक जानकारी तत्काल दिनु पर्छ । सुगौली सन्धीपछि सेनाले नेपाली जनता मार्ने र बलात्कार गर्नेबाहेकका केही काम नगरेकाले सेना भंग गर्नुपर्ने अभिव्यक्ति दिने प्रचण्डको प्याराजंग प्रेम किन भनेर नेपाली जनताले जान्न पाउनु पर्दछ ।

घटना र विचार साप्ताहिकका अनुसार, ७ साउनमा राजधानीमा नेवार समुदायका अगुवासंगको भेटमा प्रचण्डले प्याराजंगसंग भेटेको खुलासा गरेका थिए । प्रचण्डले हतियार व्यवस्थापनबारे आग्रह गर्दै प्याराजंगसंग भएको कुरा सुनाउदै 'तर थापाले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको अनुमति बिना कुनै काम हुन नसक्ने बताए' भनेका थिए ।

थापाको अभिव्यक्तिलाइ आफूले स्यावासी दिएको पनि प्रचण्डले खुलासा गरेका छन ।