New army chief criticised

नेपाली सेनाका कामु प्रधानसेनापतिमा रुक्माङत कटवालको नियुक्तिसंगै उनको चर्को विरोध हुन थालेको छ । यो स्वभाविक थियो र छ । अब कटवालको नियुक्तिमात्र होइन, लोकतान्त्रिक भनाउदो सरकारले पछिल्लो समयमा गरेका सबै नियुक्तिहरुबारे सार्वजनिक वहस हुनु जरुरी छ ।

शाही सत्ताका बेला सचिव हुन लोकमानसिंह कार्कीको चाकडी गर्ने र लाइन मिलाएर बस्ने डा. भोजराज घिमिरेलाइ कामु मुख्यसचिव बनाउनु त्रुटीपूर्ण थियो, यस्तै त्रुटीहरु हरेक नियुक्तिमा भइरहेको छ । भोजराजले अर्थ सचिव हुंदा गरेका सरुवा निक्कै विवादास्पद भएको बेला उनलाइ मुख्यसचिव बनाउनु दुर्भाग्यपूर्ण हो ।

यहां भने कटवालकै चर्चा गरौं । कामु प्रधानसेनापति रुक्मांगत कटवालले राजाको हुकुमी प्रमांगीबाट जन्म मिति सच्याइ सेवा अवधि बढाएको दाबी गर्दै सर्वोच्च अदालतमा मंगलबार रिट दायर भएको छ ।

अधिवक्ता डिलहरि शर्माद्वारा दायर रिटमा गैरकानुनी ढंगले सेवा अवधि बढाएको व्यक्तिलाई नेपाली सेना प्रमुख नबनाउन उपर्युक्त आदेशको माग छ ।

कटवाल जनआन्दोलन दबाउन सक्रिय रहेको, यही आरोपमा उच्चस्तरीय आयोगले छानबिन गरिरहेको उल्लेख गर्दै सेना प्रमुखमा उनको नियुक्ति जनआन्दोलनको मर्म र भावनाविपरीत हुने रिटमा उल्लेख छ ।

सेवा प्रवेश गर्दा कटवालले जन्ममिति २००१ मंसिर २७ गते राखेको र प्रमाणपत्रमा पनि सोही मिति भए पनि हुकुमी प्रमांगीबाट घटाई २००५ साल मंसिर २७ कायम गरेकेा रिटमा छ । हुकुमी प्रमांगीबाट उमेर, नाम र जात सच्याउन नमिल्ने भए पनि २०३३ साल कात्तिक १२ मा त्यसरी जन्ममिति सच्याइएको दाबी निवेदकले गरेका छन् ।

यसैबीच, विभिन्न २३ मानव अधिकार संस्थाहरूले मंगलबार एक संयुक्त वक्तव्य प्रकाशित गरी कामु प्रधानसेनापतिमा कटवालको नियुक्तिप्रति आपत्ति जनाएका छन् ।

मानव अधिकार हननका विभिन्न प्रकरणहरूमा कटवाल मुछिएको दाबी उनीहरूले गरेका छन् ।