Ruler stepdown
महेश्वर श्रेष्ठ---
प्रधानमन्त्रीले राष्ट्रको नाममा गर्नु भएको सम्बोधनबाट के सिद्ध भएको छ भने सदियौंदेखि अन्याय, अत्याचार, अपमान, शोषण, दमन, उत्पीडन र विभेदको शिकार हुँदै आउनु भएका तपाईं मधेशी दाजुभाई दिदीबहिनीहरुले न्याय, समानता, स्वाभिमान, स्वशासनका लागि तपाईहरुले गर्नु भएको अत्यन्त बहादुरीपूर्ण एवं बलिदानीपूर्ण ऐतिहासिक आन्दोलनको अगाडि शासक वर्ग र जाति झुक्न वाध्य भएको छ । सबभन्दा पहिले तपाईंहरु जस्तै विभेदका शिकार एवं अपमानित भई जिउन वाध्य सम्पूर्ण नेवारहरुको तर्फबाट, मेरो संस्था नेवाः ऐक्यवद्धता अभियानको तर्फबाट र मेरो आफ्नै तर्फबाट आन्दोलनको दौरान शहादत हुनु भएका सम्पूर्ण मधेशी दाजुभाई दिदीबहिनीहरुमा अत्यन्त सम्मानका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु र घाइते आन्दोनकारीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै शहादत प्राप्त गर्नु भएका सबैलाई शहीद घोषणा गर्न, उहाँहरुको परिवारजनलाई तत्काल सम्मानजनक क्षतिपूर्ति प्रदान गर्न, आश्रतिहरुलाई यथायोग्य रोजगारीको व्यवस्था गर्न, घाइतेहरुको स्तरीय उपचार एवं यथेष्ट क्षतिपूर्ति तथा अपांग भएकाहरुलाई सम्मानजनक रोजगारीको व्यवस्था गर्न नेपाल सरकारसंग जोडदार माग गर्दछु ।
हाम्रा समस्या र दुश्मन एउटै हो । तपाईंहरुको यो विजय यस अर्थमा हिमाल, पहाड, तर्राई जहाँ बसेका भए पनि नेपालका सम्पूर्ण शोषित, उत्पीडित, अपमानित र विभेदका शिकार आदिवासी जनजातिहरुको पनि विजय हो किनकि भौगोलिक विविधताका कारण तपाईहरुले भोगिरहनु परेको समस्या र हिमाल पहाडमा बस्ने आदिवासीहरुको समस्या रुप र मात्राका हिसाबले किंचित फरक भए पनि सारमा एउटै हो । नेपालको इतिहासमा पहिलो पटक यस्तो विजय हासिल गर्नु भएकोमा तपाईंहरुको साहस र बलिदानको म अत्यन्त सम्मानका साथ हार्दिक अभिवादन गर्दछु । तर यो विजय आन्दोलन आव्हान गर्ने मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवजीले भन्नु भए जस्तै वार्ताका लागि ढोका खुलेको मात्र हो, ठोस उपलव्धी र पूर्ण सफलता हासिल गर्न बाकि नै छ । तर्सथ ती उपलब्धी र सफलता हासिल नहोउन्जेल तपाईंहरुको शान्तिपूर्ण आन्दोलन जारी रहोस् । यसमा हाम्रो तर्फबाट नैतिक, भौतिक तथा जुझारु र्समर्थन सदा झैं कायम रहने छ । हामी पनि नेपाल आदिवासी जनजाति महासंघको ब्यानर अर्न्तर्गत स्वतस्फूर्त रुपमा संघर्षरत छौं । हामी चाहन्छौं हिमाल, पहाड र तर्राईको आन्दोलन एकीकृत होस् र हाम्रा साझा दुश्मनलाई हाम्रो साझा भूमिबाट सदाका लागि अन्त्य गर्न सकौं ।
हामी सम्पूर्ण आदिवासीहरुको आदि भूमी नेपाल सानो भए पनि अनेक विविधताले भरिएको विश्वको एक सुन्दर फूलवारी हो । यो मुलुकमा तपाईं हामी सबैलाई जहाँ मन लागे पनि स्वतन्त्रतापर्ूवक हिंडडुल गर्ने र बस्ने अधिकार छ । तर तपाईंहरुको न्यायपूर्ण आन्दोलन भित्र घुसेर त्यसलाई बदनाम गर्दै पृथकतावादी र साम्प्रदायिक दंगामा बदल्ने कुत्सित नियत सहित घुसपैठ गरेका मरणशील सामन्ती दरबारिया तत्वहरु, हिन्दु अतिवादी तत्वहरु, धमिलो पानीमा माछा मार्न पल्केका कथित राजनीतिक दलका गुमस्ताहरु र सिमाना पारीका पेशेवर डकैतहरुले तपाईं हाम्रै आन्दोलनकारी दाजुभाई दिदीबहिनीहरुलाई बदनाम गर्दै आतंक फैलाएका छन्, लूटपाट मच्चाएका छन्, देशका सम्मानित व्यक्तित्वहरुको सालिक ढालेका छन्, घरबार छोडेर भाग्न वाध्य पारेका छन्, कैयौंको ज्यान समेत लिएका छन् । यस्ता अपराधिक कृयाकलापको हामी घोर भत्र्सना गर्दछौं र यस्तो कार्य नरोकिएमा ती अपराधिक तत्वहरुले कल्पना नगरेको परिणाम भोग्नु पर्ने चेतावनी समेत दिन चाहन्छौं । ती अपराधिक तत्वहरुकै आतंक र धम्कीका कारण हाम्रो तथा अन्य समुदाय समेतका केही व्यक्ति र परिवार विस्थापित भएका छन् । यसले हामीलाई दुखित र चिन्तित तुल्याएको छ । आन्दोलनका आगामी दिनहरुमा तपाईंहरुले त्यस्ता घुसपैठिया अपराधिक तत्वहरुलाई चिनेर समयमै जनकार्वाही गर्नु हुनेछ र विस्थापितहरुको पुनर्स्थापनाका लागि यथासिघ्र पहल गर्नु हुनेछ भन्ने अपेक्षा गर्दै तपाईंहरुको जायज आन्दोलनमा हाम्रो सदैब जुझारु र्समर्थन रहने प्रतिवद्धता जाहेर गर्दछौं ।
वीर आदिवासी शहीदहरु अमर रहून् ।
आदिवासीहरुको मुक्ति आन्दोलन जिन्दावाद ।
हिमाल पहाड तर्राई, कोही पनि छैन पर्राई ।
आदिवासीहरुको जुझारु एकता अमर रहोस ।
(लेखक नेवाः ऐक्यवद्धता अधियान नेपालका कार्यकारी सचिव हुन)