
-रामप्रसाद दाहाल
मलाई लागेको थियो कि माओवादी काग्रेस र एमाले भन्दा भिन्न पार्टी हो । उसकै शब्दमा ुमहान जनयुद्धुलडेको पार्टीलाइ भिन्न ठान्नु स्वभाविक पनि हो ।
तर हिजो फागुन २९ गते किर्तिपुर पुगेर फर्केपछि यो त काग्रेस र एमाले भन्दा एक इन्च पनि फरक रहेनछ भन्ने लाग्यो । अझ तामझाम हेर्दा त यसले काग्रेस र एमालेलाई यो मामिलामा जित्ला झै लाग्यो ।
मामिला के हो भने वाहियात खर्च आडम्बर र सरकारी स्रोत साधनको दुरुपयोग । सरकारी गाडी प्राडो र पंजेरो देखेर म त तीन छक्क परे । माओवादी त नवसामन्तवादी दल भएर भन्ने लाग्यो । प्रचण्डको निर्वाचन क्षेत्र हो किर्तिपुर । उनी जातीय स्वशासनको कुरा उठाउने नेता हुन तर नेवारी बस्तीमा गएर नेता बन्न खोज्दै छन ।
हिजो प्रतिभासंग चियापान कार्यक्रम राखिएको थियो । मलाइ पनि माओवादीले प्रतिभा ठानेर बोलाएछ । प्रचण्डद्धारा हस्ताक्षरित निम्तो मान्न नजानु त प्रतिगामी नै हुनु हो भनेर म त्यहां पुगेको थिए । २ बजेको कार्यक्रममा निम्तो गर्ने पात्र प्रचण्ड करिव साढे तीन बजेसम्म आएनन । अनि लाग्यो यिनी पनि निकम्मा नेता रहेछन पङच्युअल रहेनछन । प्रतिभालाइ बोलाएर घाममा सुकाएर राखिएको थियो । आनन्द कार्कीलगायतका केही व्यक्तिलाइ माच दिइएको थियो तिनको गीत सुनेर बसिरहेका थिए उपस्थितहरु त्रिभुवन विश्वविद्यालयको खुला चौरमा ।
अनि मैले पहिला चिनेका केही माओवादी संचारकर्मीलाइ देखे । पहिला र अहिले तिनमा देखिएको भिन्नताले पनि मेरो मन खिन्न बनायो । पहिला हामीसंग हार्दिकता साटनेहरु हिजो त टाइसुट पहिरिएर सरकारी स्रोत साधनको दुरुपयोग गर्दै त्यहां पुगेका देखे । तिनले राम्ररी बोल्नु पनि पैसा चाहिन्छ जस्तो गरे । अनि मलाइ लाग्यो प्रचण्डमात्र होइन माओवादीका तल्ला तहका खाइलाग्दा कार्यकर्ता समेत फेरिएछन तिनले क्रान्ति भुलेछन । अब के माओवादी काग्रेस र एमाले जस्तै मात्र होला र ? यति चाडै बिग्रेको माओवादी भविश्यमा कति गन्हाउला ?